काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले गोरखाको चुमनुब्री गाउँपालिका क्षेत्रमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनाका लागि तत्काल कदम चाल्न सरकारसँग आग्रह गरेको छ।
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै बाढीका कारण पुल, बस्ती तथा अन्य भौतिक संरचनामा पुगेको क्षतिप्रति दुःख व्यक्त गरेका छन्।उनले बाढीमा प्रभावित नागरिकको उद्धारलाई प्राथमिकता दिन, घाइतेको उपचार गर्न र बेपत्ता भएकाहरूको खोजी कार्यलाई तीव्र बनाउन सरकारको ध्यानाकर्षण गराएका छन्।त्यसैगरी, प्रभावित परिवारलाई तत्काल राहत उपलब्ध गराउन, खाद्यान्न र सुरक्षित आवासको व्यवस्था मिलाउन तथा जोखिममा रहेका नागरिकलाई सुरक्षित स्थानमा सार्न उनले आग्रह गरेका छन्।बाढीबाट क्षतिग्रस्त संरचनाको पुनर्निर्माण र विस्थापित परिवारलाई पुनःस्थापित गर्न सरकारले ढिलाइ नगरी आवश्यक प्रक्रिया अघि बढाउनुपर्ने राप्रपाको माग छ।