काठमाडौं । गोरखाको बूढीगण्डकी नदीमा अचानक बाढी आएपछि प्रभावित क्षेत्रमा नेपाली सेनाको उद्धार टोली खटिएको छ।
पहिरोका कारण थुनिएको नदी खुलेसँगै लेदो र गेग्रानसहितको बाढी आएपछि नदी आसपासका बस्ती जोखिममा परेका हुन आज बिहान करिब ४ः३० बजे चुमनुब्री गाउँपालिका–३ फिलिम क्षेत्रमा पहिरोले थुनिएको बूढीगण्डकी नदी खुलेपछि बाढी आएको जानकारी प्राप्त भएको नेपाली सेनाले जनाएको छ।घटनापछि खोज तथा उद्धार कार्यका लागि सेनाले हवाई र स्थलमार्गबाट टोली परिचालन गरेको छ। उद्धार टोलीले प्रभावित क्षेत्रको निरीक्षण गर्नुका साथै पहिरोको जोखिममा रहेको जगत् गाउँबाट ६ जनालाई हेलिकप्टरमार्फत सुरक्षित स्थानमा सारेको छ।
नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार काठमाडौँबाट हवाईमार्ग हुँदै कम्पोजिट क्विक रेस्पोन्स टिम पनि प्रभावित क्षेत्रमा पुगेको छ।सेनाको टोलीले नदी किनार तथा आसपासका बस्तीका बासिन्दालाई सतर्क रहन र सुरक्षित स्थानमा जान आग्रह गरिरहेको छ।बाढीबाट प्रभावित क्षेत्रको अवस्था बुझ्ने र सम्भावित जोखिम न्यूनीकरणका लागि उद्धार तथा निगरानीको काम जारी रहेको जनाइएको छ।