काठमाडौं । गृह मन्त्रालयले सशस्त्र प्रहरी बल, नेपालका अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) वंशीराज दाहाललाई सेवाबाट हटाउने निर्णय गरेको छ।
आचरणविपरीत गतिविधि र अनुशासन उल्लंघन गरेको आरोपमा मन्त्रालयले उनीमाथि विभागीय कारबाही गरेको हो। गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव आनन्द काफ्लेद्वारा शुक्रबार जारी विज्ञप्तिअनुसार दाहालले पटक–पटक आचरणसम्बन्धी नियम उल्लंघन गरेको, अनुशासनहीन गतिविधि दोहोर्याएको तथा आफू कार्यरत संगठन र नेपाल सरकारको प्रतिष्ठामा असर पर्ने कार्य गरेको ठहर गर्दै सेवाबाट हटाउने निर्णय गरिएको हो।
यसअघि सुरक्षा सम्बन्धी संवेदनशील सूचना चुहावट गरेको आरोपमा दाहाल निलम्बनमा परेका थिए। सशस्त्र प्रहरी बलले उनीमाथि पदीय मर्यादाविपरीत कार्य गरेको आरोप लगाउँदै आवश्यक कारबाहीका लागि गृह मन्त्रालयमा सिफारिस गरेको थियो। सोही सिफारिसका आधारमा मन्त्रालयले असोज १९ गते उनलाई निलम्बन गर्दै घटनाको छानबिन गर्न जाँचबुझ अधिकृतसमेत तोकेको थियो।
दाहाल पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँगको भेटलाई लिएर पनि विवादमा तानिएका थिए। प्रहरी नियन्त्रणमा रहेका जबरालाई दाहालले असोज ११ गते बिहान टेकुस्थित उपत्यका अपराध अनुसन्धान कार्यालयमा पुगेर भेटेको आरोप लागेको थियो। उक्त घटनापछि सशस्त्र प्रहरीको चेन अफ कमान्ड उल्लंघन गरेको विषयसमेत उठेको थियो। यस विषयमा सशस्त्र प्रहरी प्रधान कार्यालयले दाहालसँग स्पष्टीकरण मागेको थियो भने गृह मन्त्रालयले पनि उनीसँग सम्बन्धित घटनाबारे छानबिन प्रक्रिया अघि बढाएको थियो। विभिन्न आरोप र विवादपछि मन्त्रालयले गरेको विभागीय कारबाहीसँगै दाहाल सशस्त्र प्रहरी सेवाबाट बाहिरिएका छन्।