काठमाडौं । मन्त्रिपरिषद् बैठकले विश्व बैंकसँग सम्झौता गर्ने, बिटौरी जग्गा दर्तासम्बन्धी समिति गठन गर्ने, एसियाली खेलकुदमा पदक विजेता खेलाडीलाई नगद पुरस्कार दिने र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा सचिव नियुक्त गर्नेलगायत चार निर्णय गरेको छ।
बैठकका निर्णयअनुसार नेपाल अर्थक्वेक क्याटास्ट्रोफ बन्डसम्बन्धी म्यान्डेट एग्रिमेन्टमा विश्व बैंकसँग हस्ताक्षर गर्न स्वीकृति प्रदान गरिएको छ। त्यस्तै, बिटौरी जग्गामा बसोबास गर्दै आएका व्यक्तिका नाममा जग्गा दर्ता गर्ने सम्बन्धमा ‘समिति गठन आदेश, २०८३’ स्वीकृत गरिएको छ। जापानको आइची–नागोयामा आयोजित २०औँ एसियाली खेलकुदमा पदक प्राप्त गर्ने महिला कबड्डी तथा करातेका खेलाडी, प्रशिक्षक र व्यवस्थापकलाई नगद पुरस्कार प्रदान गर्ने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ। यसैगरी, नेपाल न्याय सेवाअन्तर्गत सरकारी वकिल समूहका सहन्यायाधिवक्ता अच्युतमणि न्यौपानेलाई राजपत्राङ्कित विशिष्ट श्रेणीमा बढुवा गरी बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको सचिव पदमा पदस्थापन गर्ने निर्णय गरिएको छ।