काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि भइरहेको मतदानमा दिउँसो साढे २ बजेसम्म ३ हजार ७५४ प्रतिनिधिले मत खसालेका छन्।
निर्वाचन समितिका अनुसार देशका विभिन्न प्रदेश तथा समूहका लागि तोकिएका मतदान केन्द्रमा मतदान जारी छ। महाधिवेशनमा कुल ७ हजार ३१७ प्रतिनिधि सहभागी हुन पाउने व्यवस्था छ।प्रदेशगत विवरणअनुसार कोशी प्रदेशका १ हजार २०७ प्रतिनिधिमध्ये ६१३ जनाले मतदान गरेका छन्। मधेस प्रदेशमा १ हजार २३४ मध्ये ५९० जनाले मत खसालेका छन्। त्यस्तै, सुदूरपश्चिम, कर्णाली तथा जनसम्पर्क समितितर्फका कुल २ हजार ४५७ प्रतिनिधिमध्ये ७३३ जनाले मतदान गरेका छन्।
यसैगरी, लुम्बिनी प्रदेशका १ हजार ७९ प्रतिनिधिमध्ये ५७९, गण्डकीका ७८७ मध्ये ५०७ र बागमतीका १ हजार ४९१ प्रतिनिधिमध्ये ७३२ जनाले मतदान गरिसकेको निर्वाचन समितिले जनाएको छ।मतदानका लागि प्रतिनिधिहरूको लामो लाइन लागेपछि निर्वाचन समितिले समय थप गरेको छ। यसअघि दिउँसो ३ बजेसम्मका लागि निर्धारण गरिएको मतदान अवधि बढाएर साँझ ५ बजेसम्म पुर्याइएको हो।निर्वाचन समितिका अनुसार मतदान प्रक्रिया शान्तिपूर्ण रूपमा सञ्चालन भइरहेको छ।