काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको भनिएको भ्रष्टाचारसम्बन्धी मुद्दा स्थगित गर्न विशेष अदालतले अस्वीकार गरेपछि पूर्वअर्थमन्त्री डा. रामशरण महत सर्वोच्च अदालत पुगेका छन्।
स्वास्थ्य अवस्थाका कारण मुद्दाको सुनुवाइ मुल्तवीमा राख्नुपर्ने मागसहित उनकी पत्नी रोशना महतले दिएको निवेदनमा विशेष अदालतबाट मागअनुसारको आदेश नआएपछि उनी सर्वोच्च पुगेका हुन्। रोशना महतले आफ्ना पति ‘फ्रन्टोटेम्पोरल डिमेन्सिया’ नामक गम्भीर मानसिक रोगबाट प्रभावित रहेको र शारीरिक तथा मानसिक रूपमा अशक्त भएको जिकिर गरेकी छन्। उनले स्मरणशक्ति कमजोर हुने, मानिस चिन्न कठिन हुने तथा बयानका क्रममा प्रश्नको उचित जवाफ दिनसमेत असमर्थ रहेको उल्लेख गर्दै स्वास्थ्य अवस्थालाई ध्यानमा राखेर मुद्दा स्थगित गर्न माग गरेकी थिइन्। यसका लागि नेपाल मेडिकल बोर्डको स्वास्थ्य परीक्षण प्रतिवेदनसमेत पेस गरिएको बताइएको छ।
यसअघि विशेष अदालतले गत साउन ५ गते उक्त निवेदनमाथि सुनुवाइ गर्दै मुद्दा मुल्तवीमा राख्न आवश्यक नरहेको आदेश दिएको थियो। त्यसपछि पुनः परेको निवेदनमा पनि विशेष अदालतले असोज २० गते यसअघि नै आदेश भइसकेको उल्लेख गर्दै थप आदेश जारी गर्नुपर्ने अवस्था नरहेको जनाएको थियो। विशेष अदालतले प्रतिवादी महत अदालतमा उपस्थित भएका बेला उनको स्वास्थ्य अवस्थासमेत मूल्याङ्कन गरी कानुनबमोजिम उपयुक्त आदेश दिन सकिने स्पष्ट पारेको थियो। तर, निवेदनकै आधारमा तत्काल मुद्दा मुल्तवीमा राख्न नमिल्ने अदालतको निष्कर्ष थियो।
रोशना महतले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १२८ को उपदफा (१) र (२) लाई आधार बनाएर मुद्दा स्थगित गर्न माग गरेकी हुन्। यस विषयमा सर्वोच्च अदालतका न्यायाधीश अब्दुल अजिज मुसलमानको एकल इजलासमा शुक्रबार सुनुवाइका लागि पेसी तोकिएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा ८ अर्ब ३६ करोड रुपैयाँभन्दा बढी रकम अनियमितता भएको दाबीसहित भ्रष्टाचार मुद्दा दायर गरेको थियो। उक्त मुद्दामा पूर्वअर्थमन्त्री महतसहित पाँच जना मन्त्री, १० जना पूर्वसचिवलगायत ५५ जना व्यक्ति र एक कम्पनीलाई प्रतिवादी बनाइएको छ। महतमाथि मन्त्री पदमा रहँदा अनियमिततासँग जोडिएको निर्णय प्रक्रियामा संलग्न भएको आरोप लगाइएको छ। यद्यपि, मुद्दामा लगाइएका आरोपको अन्तिम निरूपण अदालतको प्रक्रियाबाटै हुनेछ।