काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि आज शुक्रबार मतदान हुँदैछ।
बिहान ७ बजेदेखि मतदान सुरु गर्ने तयारी गरिएको छ। मतदानका लागि महाधिवेशन प्रतिनिधिहरू बिहानैदेखि लाइनमा लागेका छन्। यसअघि बिहीबारका लागि तय गरिएको मतदान मतपत्र छपाइमा ढिलाइ र आवश्यक प्राविधिक तयारी पूरा नभएपछि स्थगित गरिएको थियो। निर्वाचन समितिले आवश्यक तयारी पूरा गरेसँगै आज मतदान प्रक्रिया अघि बढाउन लागेको हो।
निर्वाचन समितिका अनुसार नयाँ नेतृत्व चयनका लागि कुल ७ हजार २५५ जना महाधिवेशन प्रतिनिधिले मतदान गर्नेछन्। सभापति पदका लागि गगन थापा र श्यामकृष्ण खड्गीबीच प्रतिस्पर्धा हुँदैछ। निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालका अनुसार खराब मौसम, प्राविधिक समस्या र ढिलो मतदान सुरु हुँदा राति मतदातालाई पर्न सक्ने कठिनाइलाई ध्यानमा राखेर मतदानको समय शुक्रबार बिहानका लागि सारिएको हो। मतदान प्रक्रिया सम्पन्न भएपछि आजै मतगणना सुरु गर्ने तयारीसमेत गरिएको छ। मतदानका लागि लामो समयदेखि प्रतीक्षामा रहेका प्रतिनिधिहरू मतदानपछि दशैँ मनाउन घर फर्किने तयारीमा समेत देखिएका छन्।