काठमाडौं ।चाडपर्व नजिकिँदै गर्दा आन्तरिक हवाई सेवाको टिकट महँगिएको गुनासो आएपछि नेपाल नागरिक उड्डयन प्राधिकरण क्यान ले वायुसेवा कम्पनीहरूसँग छलफल गरेको छ।
प्रधानमन्त्री वालेन्द्र शाहको निर्देशन तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेल गनेसको सक्रियतामा क्यानले सम्बन्धित आन्तरिक वायुसेवा कम्पनीका पदाधिकारी तथा प्रतिनिधिलाई बोलाएर हवाई भाडाका विषयमा छलफल गरेको हो।छलफलमा यात्रुलाई स्वीकृत भाडादरभन्दा कम मूल्यमा टिकट उपलब्ध गराउने विषयमा सहमति भएको छ। साथै, सम्बन्धित गन्तव्यको भाडादरबारे यात्रुले सहज रूपमा जानकारी पाउने गरी वायुसेवा कम्पनीका टिकट बिक्री तथा वितरण गर्ने प्लेटफर्ममा सूचना सार्वजनिक गर्ने सहमति भएको जनाइएको छ।
क्यानका अनुसार आन्तरिक हवाई सेवामा लागू हुने न्यूनतमदेखि अधिकतम भाडादर तत्कालीन पर्यटनमन्त्रीस्तरीय निर्णयबाट २०७२ मंसिर २७ गते निर्धारण गरिएको थियो।चाडपर्वका बेला यात्रुको चाप बढ्ने भएकाले हवाई टिकटको मूल्यमा अनावश्यक वृद्धि हुन नदिन तथा यात्रुलाई सहज रूपमा टिकट उपलब्ध गराउने उद्देश्यले वायुसेवा कम्पनीहरूसँग छलफल गरिएको हो।