काठमाडौं ।नेकपा एमालेको स्थायी कमिटी बैठकमा पार्टी महासचिव शङ्कर पोखरेलको आसन यसपटक परिवर्तन भएको छ।
बिहीबार पार्टी कार्यालयमा बसेको स्थायी कमिटी बैठकमा पोखरेल अध्यक्ष केपी शर्मा ओलीको नजिकै नभई उपाध्यक्षहरूभन्दा पछाडिको पंक्तिमा बसेका थिए। यसअघिका बैठकहरूमा भने महासचिव पोखरेल अध्यक्ष ओलीसँगैको आसनमा बस्ने गरेका थिए।यसपटक अध्यक्ष ओलीको एकातर्फ वरिष्ठ नेता विद्यादेवी भण्डारी र अर्कोतर्फ उपाध्यक्ष रामबहादुर थापा ‘बादल’का लागि आसन व्यवस्थापन गरिएको थियो। त्यसपछि पदाधिकारीहरूको क्रमअनुसार महासचिव पोखरेल उपाध्यक्षपछिको स्थानमा बसेका हुन्।
बैठकमा ओलीको दायाँतर्फ वरिष्ठ नेता भण्डारीपछि विष्णु पौडेल र गोकर्ण विष्ट बसेका थिए भने त्यसपछि महासचिव पोखरेलको आसन राखिएको थियो।ओलीको बायाँतर्फ भने उपाध्यक्ष रामबहादुर थापा ‘बादल’, पीएस गुरुङ र रघुजी पन्त बसेका थिए।एमालेका अघिल्ला अधिकांश बैठकमा अध्यक्ष ओलीको छेउमै महासचिव पोखरेलको आसन रहने गरेको भए पनि यसपटक वरिष्ठ नेता र उपाध्यक्षको नयाँ आसन व्यवस्थापनका कारण उनको स्थान परिवर्तन भएको देखिएको छ।