काठमाडौं ।गृहमन्त्री सुधन गुरुङले सरकारी तथा संवेदनशील सूचना अनधिकृत रूपमा बाहिर पुर्याउने जोसुकै भए पनि कारबाहीको दायरामा ल्याइने बताएका छन्।
सशस्त्र प्रहरी बलका एआईजी वंशी राज दाहाललाई गोप्य सूचना चुहाएको आरोपमा निलम्बन गरिएपछि गृहमन्त्री गुरुङले सामाजिक सञ्जालमार्फत यस्तो धारणा सार्वजनिक गरेका हुन्।गृह मन्त्रालयले सोमबार साँझ एआईजी दाहाललाई गोपनीयता भंग गरेको आरोपमा निलम्बन गरेको थियो। घटनाबारे थप अनुसन्धान गर्न छानबिन समिति समेत गठन गरिएको मन्त्रालयले जनाएको छ।
गृहमन्त्री गुरुङले राज्यले जिम्मा दिएको संवेदनशील सूचना जानाजान बाहिर पुर्याएर देश वा सम्बन्धित संगठनप्रति विश्वासघात गर्ने व्यक्तिलाई कुनै किसिमको छुट नदिइने बताएका छन्। त्यस्ता गतिविधिमा संलग्नलाई कानुनी प्रक्रियामार्फत जिम्मेवार बनाइने उनको भनाइ छ।उनले गृह मन्त्रालय तथा मातहतका कार्यालयमा कार्यरत केही जिम्मेवार अधिकारी र कर्मचारीले आफ्नो पदको मर्यादा र दायित्व बिर्सिएर गोप्य तथा संवेदनशील विवरण अनधिकृत व्यक्ति वा संस्थासम्म पुर्याउने प्रवृत्ति लामो समयदेखि देखिँदै आएको उल्लेख गरेका छन्।
गृहमन्त्री गुरुङले सरकारी जिम्मेवारीमा रहेका सबैले गोपनीयता र पदीय दायित्वप्रति गम्भीर हुनुपर्नेमा जोड दिएका छन्। संवेदनशील सूचना चुहाउने कार्य नियन्त्रण गर्न आवश्यक कदम चालिने उनको भनाइ छ।