काठमाडौं ।‘कमेडी च्याम्पियन’का विजेता हिमेश पन्त र सुनिल खड्का नयाँ कमेडी टक शोमार्फत दर्शकमाझ आउने भएका छन्।
उनीहरूले ‘हल्ला खल्ला विथ हिमेश’ नामको कार्यक्रम सुरु गर्न लागेका हुन्।कमेडी क्षेत्रमा केही समयको अन्तरालपछि पुनः सक्रिय हुन लागेका हिमेश र सुनिलले नयाँ शैलीमा कमेडी र मनोरञ्जन प्रस्तुत गर्ने तयारी गरेका छन्। हिमेश पहिलो सिजनका विजेता हुन् भने सुनिल तेस्रो सिजनका विजेता हुन्।
कार्यक्रममा ‘कमेडी च्याम्पियन सिजन–३’का प्रतिस्पर्धी प्रेम विश्वकर्मा, अमरेन्द्र यादव लगायतका कलाकारको प्रस्तुति पनि रहनेछ। प्रेमले विभिन्न चर्चित व्यक्तित्वको क्यारिकेचरमार्फत दर्शकको ध्यान खिचेका थिए भने अमरेन्द्र व्यंग्य तथा रोस्ट प्रस्तुतिका लागि परिचित छन्।
‘हल्ला खल्ला विथ हिमेश’मा अन्तर्वार्ता र कमेडीलाई एउटै कार्यक्रममा समेटिनेछ। एक घण्टाको कार्यक्रम सातामा एकपटक प्रसारण हुने बताइएको छ।
चलचित्र, संगीत, खेलकुद, व्यवसाय, राजनीति लगायत विभिन्न क्षेत्रका चर्चित व्यक्तिलाई कार्यक्रममा अतिथिका रूपमा बोलाउने तयारी छ। कार्यक्रमका २६ वटा एपिसोड निर्माण तथा प्रसारण गर्ने योजना रहेको सुनिल खड्काले बताएका छन्।