काठमाडौं ।प्रतिनिधि सभाको दोस्रो अधिवेशन औपचारिक रूपमा सम्पन्न भएको छ।
शुक्रबार अधिवेशन अन्त्यसँगै वैशाख २८ गतेबाट सुरु भएको संसद्को यो अधिवेशन १४५ दिनपछि समापन भएको हो।यस अवधिमा प्रतिनिधि सभाका ६८ वटा बैठक बसेका छन्। संसद् सचिवालयका अनुसार ६२ दिनमा ती बैठक सञ्चालन भएका थिए। अधिवेशनका क्रममा संसद्ले कुल २७७ घण्टा ३० मिनेट संसदीय कामकारबाहीमा बिताएको छ।अधिवेशन अन्त्यका क्रममा सभामुख डोलप्रसाद अर्यालले संसद्ले यस अवधिमा १२ वटा विधेयक पारित गरेको जानकारी दिनुभयो। आर्थिक विधेयक २०८३, विनियोजन विधेयक २०८३ तथा सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी तेस्रो संशोधनलगायतका विधेयक पारित भएका छन्। पारितमध्ये ११ वटा विधेयक राष्ट्रपतिबाट प्रमाणीकरणसमेत भइसकेका छन्।
त्यस्तै, २० वटा विधेयक संसदीय समितिमा छलफलका क्रममा रहेका छन् भने अन्य केही विधेयकसमेत प्रक्रियामा छन्।अधिवेशनका क्रममा सरकारको नीति तथा कार्यक्रममाथि छलफल गरी पारित गरिएको थियो। वार्षिक बजेट, राजस्व तथा सरकारी खर्चसम्बन्धी विषयमा पनि संसद्मा विस्तृत बहस भएको थियो। विभिन्न संवैधानिक निकायका वार्षिक प्रतिवेदन सदनमा प्रस्तुत भएका थिए भने मन्त्रीहरूले सांसदका प्रश्नको जवाफसमेत दिएका थिए।यो अधिवेशनमा विपद् व्यवस्थापन र जनसरोकारका विषयले पनि प्राथमिकता पाएको संसद् सचिवालयले जनाएको छ। भोटेकोशी र त्रिशूली क्षेत्रमा आएको बाढीबाट भएको जनधनको क्षतिप्रति संसद्ले दुःख व्यक्त गर्दै उद्धार तथा राहतका लागि सरकारलाई आवश्यक कदम चाल्न निर्देशन दिएको थियो।
त्यसैगरी, जलवायु परिवर्तनको प्रभाव र विपद् व्यवस्थापनका विषयमा अध्ययन तथा आवश्यक सुझाव दिन १५ सदस्यीय विशेष संसदीय समिति गठन गरिएको थियो।