काठमाडौं ।नेकपा एमाले का अध्यक्ष केपी शर्मा ओलीले नेपालले आफ्नै विशेषता र आवश्यकताअनुसार समाजवादको बाटो अघि बढाउनुपर्ने बताएका छन्।
शुक्रबार मनोनीत केन्द्रीय सदस्यहरूको शपथग्रहण समारोहलाई सम्बोधन गर्दै ओलीले समाजमा वर्ग कायम रहेसम्म वर्गसंघर्षको अवस्था पनि रहने धारणा व्यक्त गरे। उनले नागरिकको सुरक्षा, आर्थिक समृद्धि र सम्मान सुनिश्चित गर्न सके सुखी नेपाली निर्माणको आधार तयार हुने बताए।ओलीले गरिबीलाई स्थायी समस्या मान्न नहुने उल्लेख गर्दै विभिन्न मुलुकले गरिबी घटाउँदै उल्लेखनीय उपलब्धि हासिल गरेको उदाहरण प्रस्तुत गरे। उनका अनुसार नेपालले पनि चरम गरिबी न्यूनीकरणमा उल्लेखनीय प्रगति गरिसकेको थियो।
तर मुलुकको विकास प्रक्रियालाई अवरोध पुर्याउने प्रयासका कारण अघि बढेको अभियानमा असर परेको उनको दाबी थियो।पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले एमाले जिम्मेवार राज्य व्यवस्था र उत्तरदायी अर्थतन्त्र निर्माणको पक्षमा रहेको बताए। समाजमा कुनै व्यक्ति वा समुदाय पछाडि नछुटोस् भन्ने उद्देश्य पार्टीको रहेको उनको भनाइ छ।उनले एमालेले अघि सारेका राजनीतिक तथा सामाजिक विचारलाई थप विकसित र जनमुखी बनाउनुपर्ने धारणा राखे। ओलीले ‘परिपूर्ण लोकतन्त्र’लाई पार्टीले अघि सारेका व्यापक राजनीतिक उद्देश्यको सारका रूपमा व्याख्या गरे।
उनका अनुसार नागरिकको संरक्षण र आवश्यकतामा राज्यको भूमिका सुनिश्चित गर्न जिम्मेवार सरकार आवश्यक हुन्छ। यस्तो उद्देश्य बोकेको राजनीतिक दलको यात्रामा विभिन्न समयमा चुनौती तथा धक्का आउन सक्ने भए पनि लक्ष्यबाट विचलित हुन नहुने ओलीको भनाइ थियो।