काठमाडौं ।भारतको आन्ध्र प्रदेशमा चक्रवात ‘अर्नब’को प्रभाव देखिन थालेको छ।
श्रीकाकुलम जिल्लाको कलिंगपट्टनम आसपासको तटीय क्षेत्रमा चक्रवात प्रवेश गरेपछि विभिन्न क्षेत्रमा मौसम प्रतिकूल बनेको हो।मौसम विभागका अनुसार चक्रवात पछिल्लो समय पश्चिम–उत्तरपश्चिम दिशातर्फ अघि बढ्दै कलिंगपट्टनमको दक्षिण–पश्चिमी तटीय क्षेत्र पार गरेको थियो।चक्रवातको प्रभावसँगै आन्ध्र प्रदेशका विभिन्न स्थानमा भारी वर्षा र तीव्र हावाहुरी चलेको छ। एनटीआर जिल्लाको विजयवाडामा बिहानैदेखि वर्षा भइरहेको छ। लगातारको वर्षाका कारण होचा क्षेत्रहरू डुबानमा परेका छन् भने जोखिमलाई ध्यानमा राख्दै धेरै विद्यालयमा लगातार दोस्रो दिन पनि पठनपाठन बन्द गरिएको छ।
ओडिसामा पनि चक्रवातको प्रभाव परेको छ। जोखिमयुक्त क्षेत्रका करिब ५ हजार मानिसलाई सुरक्षित स्थानमा सारिएको छ। मलकानगिरीमा भारी वर्षाका कारण केही पुलमा क्षति पुगेको छ भने कतिपय पुलमाथि तीनदेखि चार फिटसम्म पानी बगेको बताइएको छ।चक्रवातको सम्भावित जोखिमलाई मध्यनजर गर्दै ओडिसाका कम्तीमा सात जिल्लामा विद्यालय बन्द गरिएको छ। साथै, उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउन ११ जिल्लाका प्रशासनिक प्रमुखलाई आवश्यक तयारी अवस्थामा रहन निर्देशन दिइएको छ।यता पश्चिम बंगालका केही क्षेत्रमा पनि भारी वर्षाको सम्भावना रहेको बताइएको छ। दार्जिलिङ र कलिम्पोङ क्षेत्रमा सम्भावित पहिरोको जोखिमलाई लिएर सतर्कता अपनाउन चेतावनी जारी गरिएको छ।