काठमाडौं । नेपाली जनसम्पर्क समिति अष्ट्रेलियाको पाँचौँ अधिवेशनअन्तर्गत सभापतिमा दिलीप पोखरेल सर्वसम्मत निर्वाचित भएका छन्।
निर्वाचन समितिले उम्मेदवारहरूको उम्मेदवारीमाथि तोकिएको समयभित्र कुनै पनि दाबी–विरोध नपरेको र सर्वसम्मतिका लागि निर्धारित समयावधि समेत समाप्त भएपछि विभिन्न पदका उम्मेदवारहरू सर्वसम्मत निर्वाचित भएको जानकारी दिएको हो।समितिको उपसभापतिमा सुवास तामाङ र दयाराम पौडेल चयन भएका छन्। त्यस्तै, महामन्त्रीमा पुरन रोकाया तथा सह–महामन्त्रीमा भूपेन्द्र कँडेल र कर्मा लामा निर्वाचित भएका छन्। यसैगरी, अष्ट्रेलियाका विभिन्न राज्यका संयोजकहरूमा राज गुरुङ (न्यू साउथ वेल्स), निराजन खड्का (साउथ अष्ट्रेलिया), प्रकाशकाजी थापा (भिक्टोरिया), जनक पौडेल (अष्ट्रेलियन क्यापिटल टेरिटोरी), आशिक खड्का (विन्सल्याण्ड), निरज ढकाल (वेस्टर्न अष्ट्रेलिया), अर्जित मिश्र (तास्मानिया) र बिबेक ढकाल (डार्विन) चयन भएका छन्। निर्वाचन समितिका अनुसार केन्द्रीय सदस्य तथा राज्य सदस्यहरू पनि सर्वसम्मतिबाट चयन भएका छन्। अधिवेशन समितिका सभापति सुरेश रणसिंह गुरुङले निर्वाचनसम्बन्धी जानकारी सार्वजनिक गरेका हुन्।