काठमाडौं ।प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सचेतक निश्कल राईले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै नागरिकप्रति जिम्मेवार भएर काम गर्न आग्रह गरेका छन्।
उनले सत्ताको दम्भ देखाउने र आलोचकप्रति धम्कीपूर्ण व्यवहार गर्ने प्रवृत्ति त्याग्न सरकारलाई चेतावनी दिएका हुन्।बुधबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै राईले विपत्तिका बेला सरकारले नागरिकलाई राज्य आफ्नो साथमा रहेको अनुभूति दिलाउन नसकेको आरोप लगाए। भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीका कारण ठूलो क्षति भए पनि विपद्को सुरुवाती चरणमा सरकारको सक्रियता प्रभावकारी नदेखिएको उनको भनाइ थियो।
राईले विपद् व्यवस्थापनमा सरकारको तयारी र भूमिकामाथि प्रश्न उठाउँदै प्रधानमन्त्रीको संसद्मा उपस्थिति तथा पीडितका समस्या सुन्ने विषयमा समेत आलोचना गरे। विपत्तिबाट प्रभावित नागरिकलाई तत्काल राहत, उद्धार र पुनर्स्थापनाको अनुभूति हुने गरी काम गर्नुपर्ने उनले बताए।सरकारले आलोचक, प्रतिपक्षी र सञ्चारकर्मीप्रति देखाउने व्यवहारबारे पनि उनले प्रश्न उठाए। नागरिकलाई डर देखाउने, आलोचकलाई विरोधीका रूपमा हेर्ने र सञ्चारमाध्यमलाई दबाब दिने शैली लोकतान्त्रिक अभ्याससँग मेल नखाने उनको तर्क थियो।
भदौ २३ र २४ गते भएका घटनाका साथै मानव अधिकार उल्लङ्घन र कारागारबाट कैदीबन्दी भागेको विषयमा सरकारले संसद्मा स्पष्ट जवाफ दिनुपर्ने उनले माग गरे। घटनाबारे छानबिन गर्न उच्चस्तरीय संसदीय समिति गठनमा ढिलाइ भइरहेको भन्दै उनले सरकारको जवाफदेहितामाथि प्रश्न उठाए।राजनीतिलाई केवल सामाजिक सञ्जालका अभिव्यक्तिसँग जोडेर हेर्न नहुने बताउँदै राईले नागरिकको पीडाप्रति संवेदनशील हुनु र संसद्को मर्यादा कायम राख्नु राजनीतिको आधारभूत जिम्मेवारी भएको उल्लेख गरे।
राजविराजकी बबिता पासवानको उपचार अभावमा मृत्यु भएको घटनालाई समेत उनले संसद्मा उठाए। उक्त घटनाले सार्वजनिक स्वास्थ्य सेवाको अवस्थाबारे गम्भीर प्रश्न खडा गरेको भन्दै राज्यले उपचारको पहुँच सुनिश्चित गर्नुपर्ने उनले बताए।राईले सरकारलाई दम्भ छाडेर संवाद र सहकार्यमा अघि बढ्न तथा प्रचारभन्दा परिणाम देखिने गरी काम गर्न आग्रह गरे। विपद् प्रभावित नागरिकका समस्या तत्काल सम्बोधन गर्न सरकार थप जिम्मेवार बन्नुपर्ने उनको भनाइ थियो।