काठमाडौं । राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालले भर्ना नलिएपछि एक महिलाले फुटपाथमै बच्चा जन्माएको घटनाको छानबिन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले टोली परिचालन गरेको छ।
शुक्रबार सिंहदरबारमा बसेको प्रतिनिधिसभाअन्तर्गतको शिक्षा समितिको बैठकमा स्वास्थ्यमन्त्री निशा मेहताले घटना सार्वजनिक भएलगत्तै छानबिन प्रक्रिया अघि बढाइएको जानकारी दिइन्।मन्त्री मेहताका अनुसार नेपाल मेडिकल काउन्सिलका रजिस्ट्रारको नेतृत्वमा पाँच सदस्यीय ‘एथिकल कमिटी’ र मन्त्रालयका क्युरेटिभ डिभिजन प्रमुख डा. पवन रायमाझीसहितको संयुक्त टोली गठन गरिएको छ। टोलीलाई घटनाको वास्तविकता पत्ता लगाउन तत्काल राजविराज पठाइएको र अहिले स्थलगत रूपमा जाँचबुझ भइरहेको उनले बताइन्।
स्वास्थ्यकर्मी, अस्पताल प्रशासन, नर्सिङ वा पारामेडिक्समध्ये जोसुकैको लापरबाही वा कमजोरी पुष्टि भए पनि दोषीमाथि कानुनी कारबाही अघि बढाउने मन्त्री मेहताले प्रतिबद्धता जनाइन्।बैठकमा सांसद रमेश मल्लले संघीय सरकारकै मातहतमा रहेको अस्पतालमा यस्तो गम्भीर घटना हुनु दुःखद भएको भन्दै मन्त्री र सचिवले समेत नैतिक जिम्मेवारी लिनुपर्ने बताए। उनले घटनामा संलग्न दोषी पहिचान गरी तत्काल कडा कारबाही गर्न माग गरे।मल्लले आगामी दिनमा सरकारी अस्पतालमा यस्ता अमानवीय घटना दोहोरिन नदिन सरकारले अपनाउने ठोस योजना र सुधारका कदमबारे स्पष्ट जानकारी दिन पनि मन्त्रालयसँग आग्रह गरे।