काठमाडौं । बैंक तथा वित्तीय संस्थाले अब परम्परागत वित्तीय जोखिमसँगै जलवायु परिवर्तन र प्रविधिजन्य जोखिमलाई समेत पहिचान गरी व्यवस्थापन गर्नुपर्ने भएको छ।
नेपाल राष्ट्र बैंकले ‘जोखिम व्यवस्थापन मार्गदर्शन २०२६’ जारी गर्दै बैंक तथा वित्तीय संस्थाले प्रविधिको बढ्दो प्रयोग र जलवायु परिवर्तनबाट उत्पन्न हुन सक्ने जोखिमको पहिचान, न्यूनीकरण तथा व्यवस्थापन गर्नुपर्ने व्यवस्था गरेको हो। यसअघि बैंकिङ क्षेत्रमा कर्जा, तरलता, सञ्चालन, बजार तथा ब्याजदर जोखिमलाई प्रमुख रूपमा हेर्ने गरिएको थियो। नयाँ मार्गदर्शनले भने सूचना प्रविधि प्रणालीमा समस्या, साइबर आक्रमण, डाटा चुहावट तथा विपद्पछिको पुनरुत्थानसँग सम्बन्धित जोखिमलाई पनि समेटेको छ।
त्यस्तै, जलवायु परिवर्तन, प्राकृतिक विपत्ति तथा कार्बन उत्सर्जनबाट वित्तीय क्षेत्रमा पर्न सक्ने प्रभावलाई समेत जोखिमका रूपमा मूल्यांकन गर्नुपर्नेछ। बैंकहरूले आफ्नो रणनीतिक योजना र आकस्मिक व्यवस्थापनमा जलवायु जोखिमलाई समावेश गर्नुपर्ने मार्गदर्शनमा उल्लेख छ। जोखिम व्यवस्थापनलाई प्रभावकारी बनाउन मार्गदर्शनले सञ्चालन इकाइ, जोखिम तथा अनुपालन विभाग र आन्तरिक लेखापरीक्षणसहितको तीन पंक्ति मोडेल अपनाउन सुझाएको छ। साथै, सञ्चालक समिति र उच्च व्यवस्थापनको निगरानी, स्वतन्त्र मुख्य जोखिम अधिकृत तथा प्रभावकारी व्यवस्थापन सूचना प्रणाली विकास गर्नुपर्ने व्यवस्था गरिएको छ।