काठमाडौं ।नेपाली कांग्रेसले आफ्नो १५औँ महाधिवेशनको निर्वाचन प्रक्रिया व्यवस्थित र पारदर्शी बनाउन ‘निर्वाचन निर्देशिका, २०८३’ सार्वजनिक गरेको छ।
केन्द्रीय निर्वाचन समितिले महाधिवेशनका सबै तहको निर्वाचनलाई मर्यादित र स्पष्ट ढंगले सञ्चालन गर्ने उद्देश्यले निर्देशिका ल्याएको हो।नयाँ निर्देशिकाले वडा तहदेखि केन्द्रीय कार्यसमितिसम्म हुने निर्वाचनका प्रक्रिया, उम्मेदवारी, मतदान र निर्वाचन व्यवस्थापनसम्बन्धी प्रावधानलाई स्पष्ट पारेको छ।निर्देशिकाअनुसार उम्मेदवारले निर्वाचन प्रचारका क्रममा अनुशासन र मर्यादा कायम गर्नुपर्नेछ। जुलुस, कोणसभा वा अन्य प्रचारात्मक गतिविधि गर्दा निर्वाचनको स्वच्छता र शान्तिपूर्ण वातावरणमा असर नपर्ने गरी कार्यक्रम सञ्चालन गर्नुपर्ने व्यवस्था गरिएको छ।उम्मेदवारको नाम वा चुनाव चिह्न राखिएका टोपी, भेस्ट, ज्याकेट, मास्कलगायतका प्रचार सामग्री प्रयोग गर्न रोक लगाइएको छ। सार्वजनिक स्थानमा अनावश्यक होहल्ला गर्ने, सवारी साधनको दुरुपयोग गर्ने तथा बालबालिकालाई चुनावी गतिविधिमा सहभागी गराउने कार्यसमेत निषेध गरिएको छ।
यसपटक कांग्रेसको निर्वाचन प्रक्रियामा प्रविधिको प्रयोगलाई पनि प्राथमिकता दिइएको छ। उम्मेदवारी दर्ताका क्रममा लाग्ने शुल्क क्यूआर कोडमार्फत भुक्तानी गर्न सकिने व्यवस्था गरिएको छ। निर्वाचन परिणाम डिजिटल प्रणालीमार्फत वेबसाइटमा प्रविष्ट गर्ने तथा मतदाता नामावलीमा आवश्यक संशोधनसमेत डिजिटल माध्यमबाट गर्न सकिने प्रावधान राखिएको छ।निर्देशिकाले संविधान र पार्टी विधानअनुसार समावेशी प्रतिनिधित्वलाई समेत प्राथमिकतामा राखेको छ। दलित, आदिवासी जनजाति, खस–आर्य, मधेसी, थारु र मुस्लिम समुदायको प्रतिनिधित्व सुनिश्चित गर्न विभिन्न तहमा आवश्यक समावेशी सिटको व्यवस्था गरिएको छ।त्यसैगरी हुम्ला, जुम्ला, कालिकोट, मुगु, डोल्पा, पश्चिम रुकुम, सल्यान, दैलेख, सुर्खेत, जाजरकोट, बाजुरा, बझाङ र अछामलाई पिछडिएको क्षेत्रका रूपमा समेट्दै प्रतिनिधित्वका लागि विशेष व्यवस्था गरिएको छ।
निर्वाचन सञ्चालनमा खटिने निर्वाचन अधिकृत र मतदान अधिकृतको जिम्मेवारीसमेत निर्देशिकामा स्पष्ट गरिएको छ। गाउँ तथा नगरपालिका, प्रदेश सभा, प्रतिनिधि सभा, जिल्ला र प्रदेश तहका निर्वाचनका लागि छुट्टाछुट्टै मतपत्रको ढाँचा तोकिएको छ। निर्वाचनमा खटिने पदाधिकारी तथा सदस्यले पालना गर्नुपर्ने प्रतिज्ञापत्रको व्यवस्था पनि गरिएको छ।निर्देशिकाले महाधिवेशनका विभिन्न तहमा उम्मेदवार बन्न आवश्यक योग्यता र उम्मेदवारी शुल्कसमेत निर्धारण गरेको छ। केन्द्रीय सभापति पदका लागि उम्मेदवारी शुल्क ४० हजार रुपैयाँ तथा केन्द्रीय सदस्यका लागि ११ हजार रुपैयाँ तोकिएको छ।