काठमाडौं ।नेपाली कांग्रेसभित्र १५औँ महाधिवेशनको तयारीलाई लिएर संस्थापन पक्ष र शेरबहादुर देउवा समूहबीच विवाद थप चर्किएको छ।
देउवा पक्षले विशेष महाधिवेशनबाट बनेको गगन थापा नेतृत्वको संस्थापन पक्षले गरेका निर्णय स्वीकार नगर्ने जनाएको छ।गगन थापाको अध्यक्षतामा आइतबार बसेको कार्यसम्पादन समितिको बैठकले १४औँ महाधिवेशनबाट निर्वाचित सबै केन्द्रीय सदस्यलाई उनीहरूकै पदअनुसार १५औँ महाधिवेशनमा सहभागी गराउने निर्णय गरेको थियो। यसअघि देउवा र डा। शेखर कोइराला पक्षले यही माग अघि सारेका थिए।
तर देउवा समूहले भने पुसमा सम्पन्न विशेष महाधिवेशन नै वैधानिक नभएको दाबी गर्दै त्यसबाट बनेको समितिका निर्णय आफूहरूले नमान्ने निष्कर्ष निकालेको छ।सोमबार चुनदेवीस्थित देउवा निवासमा बसेको समूहको बैठकले १५औँ महाधिवेशन मंसिरमा गर्ने गरी तयारी अघि बढाउने निर्णय गरेको नेता दीपक खड्काले बताएका छन्। उनका अनुसार असोज १५ गतेदेखि पार्टीका अधिवेशनहरू सञ्चालन गर्ने निर्णय भएको छ।गगन पक्षले भने असोजमै १५औँ महाधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरिसकेको छ। देउवा समूहले त्यसलाई एकपक्षीय निर्णय भन्दै सहभागी नहुने स्पष्ट पारेको हो।
खड्काका अनुसार राजनीतिक सहमति र छलफल नगरी विशेष महाधिवेशनबाट बनेको कार्यसम्पादन समितिले गरेका निर्णयलाई देउवा पक्षले वैधानिक नमान्ने निर्णय गरेको छ। १४औँ महाधिवेशनबाट बनेको संरचनाअनुसार नै अधिवेशन प्रक्रिया अघि बढाउने उनीहरूको भनाइ छ।महाधिवेशन तयारीका लागि निर्वाचन समिति, अनुशासन समिति तथा क्रियाशील सदस्यता व्यवस्थापन समितिलाई गठन गरी पूर्णता दिने निर्णयसमेत बैठकले गरेको छ। देउवा पक्षले यसअघि नै निर्वाचन समितिको संयोजकमा यगराज पोखरेललाई जिम्मेवारी दिएको थियो।
यसैबीच कांग्रेसको आधिकारिकतासम्बन्धी सर्वोच्च अदालतको फैसलाविरुद्ध पुनरवलोकनको अनुमति प्राप्त भइसकेकाले त्यसको निर्णय नआएसम्म पर्खने र त्यसपछि थप राजनीतिक गतिविधि अघि बढाउने रणनीति पनि देउवा पक्षले बनाएको छ।गत पुसमा तत्कालीन केन्द्रीय समितिको असहमतिबीच महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माको नेतृत्वमा विशेष महाधिवेशन भएपछि कांग्रेसभित्र विवाद सुरु भएको थियो। देउवा र डा। शेखर कोइराला पक्षले अहिलेसम्म उक्त विशेष महाधिवेशनलाई मान्यता दिएको छैन।
देउवा र शेखर पक्षले १५औँ महाधिवेशनका लागि पुस मसान्तसम्म नवीकरण भएका क्रियाशील सदस्यलाई मान्यता दिनुपर्ने तथा १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यलाई नयाँ समितिमा समेट्नुपर्ने माग गर्दै आएका थिए। यीमध्ये केन्द्रीय सदस्यसम्बन्धी माग पूरा भए पनि विशेष महाधिवेशनको वैधानिकतामाथि उनीहरूले प्रश्न उठाइरहेका छन्।देउवा समूहले आफ्नो पछिल्लो निर्णयबारे जानकारी दिन सोमबार दिउँसो ४ बजे चुनदेवीस्थित सम्पर्क कार्यालयमा पत्रकार सम्मेलन गर्ने जनाएको छ।