काठमाडौं ।पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसिएसनले भोटेकोशी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि ४० लाख १ रुपैयाँ सहयोग गरेको छ।
एशोसिएसनले बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमार्फत उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा जम्मा गरिएको जानकारी दिएको हो।एशोसिएसनका अध्यक्ष हिमाल गैरेका अनुसार संस्थामा आबद्ध पेट्रोलियम व्यवसायीबाट संकलन गरिएको रकममा एशोसिएसनले समेत थप गरी राहत कोषमा सहयोग गरिएको हो। बाढीका कारण समस्यामा परेका नागरिकलाई तत्काल सहयोगसँगै दीर्घकालीन पुनःस्थापनामा समेत योगदान पुगोस् भन्ने उद्देश्यले रकम प्रदान गरिएको उनले बताए।
यसैबीच, एशोसिएसनअन्तर्गतका क्षेत्रमा पेट्रोलियम पदार्थको आपूर्ति र वितरण नियमित रहेको अध्यक्ष गैरेले जानकारी दिए। विद्युतीय सवारीसाधनको प्रयोग बढिरहेको भए पनि पेट्रोलको बिक्रीमा ठूलो असर नपरेको उनको भनाइ छ।कार्यक्रममा एशोसिएसनका निवर्तमान अध्यक्ष प्रेम न्यौपानेले विपद्को समयमा प्रभावित नागरिकलाई सहयोग गर्न सबै पक्ष एकजुट हुनुपर्ने धारणा राखे।एशोसिएसनका महासचिव डासीराम अधिकारीका अनुसार संस्थामा दुई सयभन्दा बढी पेट्रोलियम व्यवसायी आबद्ध छन्। हालसम्म करिब ७० व्यवसायीले बाढीपीडितका लागि आर्थिक सहयोग गरेका छन्।एशोसिएसनले उपलब्ध गराएको सहयोग रकम बाढी प्रभावितको खोज तथा उद्धार, तत्कालीन राहत र पुनःस्थापनाका काममा उपयोग हुने अपेक्षा गरिएको छ।