काठमाडौं ।कैलालीको कैलारी गाउँपालिका–४ का किसान हेमन्त खरेलले सानो लगानीबाट सुरु गरेको माछापालन व्यवसायलाई अहिले आम्दानीको मुख्य आधार बनाएका छन्।
करिब ११ वर्षअघि कृषि क्षेत्रमा नयाँ काम गर्ने उद्देश्यले उनले माछापालन सुरु गरेका थिए।खरेलका अनुसार उनले सुरुवातमा करिब रु १२ हजार लगानी गरेका थिए। व्यवसाय विस्तार गर्दै जाँदा हालसम्म माछापालनमा करिब रु ५० लाख लगानी भइसकेको छ। आफ्नै जमिनमा चार वटा ठूला पोखरी बनाएर उनले विभिन्न जातका माछा उत्पादन गर्दै आएका छन्।उनको फार्मबाट वार्षिक करिब रु ६५ लाख बराबरको कारोबार हुने गरेको छ। सबै खर्च कटाएर वर्षमा करिब रु १५ लाख बचत हुने गरेको खरेल बताउँछन्।
उनले माछापालनको काममा स्थानीय आठ जनालाई रोजगारीसमेत दिएका छन्। उनीहरूको मासिक पारिश्रमिकमा मात्रै करिब रु एक लाख ५२ हजार खर्च हुने गरेको उनले जानकारी दिए।खरेलको पोखरीमा ग्रास कार्प, कमन कार्प, रहु, जलकपुरलगायत जातका करिब ३०० क्विन्टल माछा रहेको छ। उत्पादित माछा उनले थोकमा प्रतिकिलो रु ३ सय र खुद्रामा रु ३ सय ५० सम्ममा बिक्री गर्दै आएका छन्।
पछिल्लो समय नेपाल–भारत दक्षिणी सीमामा निगरानी तथा कडाइ बढेपछि अवैध रूपमा भित्रिने भारतीय माछाको आयातमा कमी आएको र त्यसबाट स्थानीय उत्पादनले राम्रो बजार पाउन थालेको खरेलको भनाइ छ।माछापालनसँगै उनले कुखुरा र बङ्गुरपालनसमेत गर्दै आएका छन्। विदेश गएर रोजगारी खोज्नुभन्दा स्वदेशमै मेहनत र लगानी गर्न सके कृषि क्षेत्रबाट राम्रो आम्दानी गर्न सकिने उनको अनुभव छ।युवालाई कृषि व्यवसायतर्फ आकर्षित गर्न स्थानीय उत्पादनलाई बजारको सुनिश्चितता र व्यवसायीलाई आवश्यक प्रोत्साहन दिनुपर्ने खरेल बताउँछन्। उनका अनुसार माछापालनजस्ता व्यवसाय विस्तार गर्न सके गाउँमै रोजगारी सिर्जना हुनुका साथै किसानको आर्थिक अवस्था सुधार गर्न पनि सहयोग पुग्न सक्छ।