काठमाडौं । नेपाल वायुसेवा निगम (नेवानि) ले बाढी तथा अन्य प्राकृतिक विपद्बाट प्रभावित नागरिकका लागि विदेशबाट पठाइने राहत सामग्रीको हवाई ढुवानीमा शुल्क छुट दिने भएको छ ।
निगमले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत अन्तर्राष्ट्रिय स्टेसनबाट नेपाल ल्याइने राहत सामग्रीको ढुवानी शुल्क एक महिनासम्म पूर्ण रूपमा मिनाहा गर्ने निर्णय गरेको हो । निगमका अनुसार सम्बन्धित दूतावासको आधिकारिक पत्रका आधारमा बाढीपीडितका लागि पठाइने खाद्यान्न, औषधि, कपडालगायत आवश्यक राहत सामग्री ढुवानी गर्दा कुनै शुल्क लिइने छैन ।
विभिन्न देश तथा संघसंस्थाबाट मानवीय सहयोगस्वरूप नेपाल पठाइने राहत सामग्री सहज रूपमा प्रभावित क्षेत्रसम्म पुर्याउन यो निर्णय गरिएको निगमले जनाएको छ । विपद्को समयमा राहत तथा मानवीय सहयोगलाई थप प्रभावकारी बनाउने उद्देश्यले गरिएको शुल्क छुटले प्रभावित समुदायलाई आवश्यक सामग्री छिटो उपलब्ध गराउन सहयोग पुग्ने निगमको विश्वास छ।