काठमाडौं ।भारतमा चिनीको मूल्य घट्न थाले पनि त्यसको प्रभाव नेपाली बजारमा भने देखिएको छैन।
सीमावर्ती भारतीय बजार जोगबनीमा चिनीको मूल्य प्रतिमात्र ९० रुपैयाँमा झरेको छ भने विराटनगरमा उपभोक्ताले अझै १२० रुपैयाँ प्रतिकिलो तिर्नुपरिरहेको छ।भारत सरकारले ठूलो परिमाणमा चिनी आयात गर्दा भन्सार तथा अन्य करमा छुट दिएको कारण त्यहाँ बजार मूल्य घटेको बताइएको छ। नेपालमा भने सीमित परिमाणमा मात्रै चिनी आयात गर्न अनुमति दिइएकाले बजारमा पर्याप्त आपूर्ति हुन नसकेको आयातकर्ताहरूको भनाइ छ।नेपालमा चिनीको मूल्य महँगो हुनुमा आपूर्तिको कमी, आयातसम्बन्धी सीमितता र स्वदेशी चिनी उद्योगको मूल्य निर्धारण लगायतका कारण रहेको व्यापारीहरूले बताएका छन्।दसैँ नजिकिँदै गर्दा चिनीको माग झनै बढ्ने भएकाले समयमै पर्याप्त चिनी बजारमा नआए मूल्य थप बढ्न सक्ने चिन्ता व्यवसायीहरूको छ।यसैबीच, साल्ट ट्रेडिङ कर्पोरेसनले भारतबाट २५ हजार मेट्रिक टन चिनी आयात गर्ने प्रक्रिया अघि बढाएको जनाएको छ। भारतीय पक्षबाट सस्तो मूल्यमा चिनी नेपाल भित्रिएमा बजार भाउ केही घट्न सक्ने अपेक्षा गरिएको छ।तर, आयातित चिनी बजारमा कहिले पुग्छ र त्यसपछि उपभोक्ताले कति राहत पाउँछन् भन्ने कुरा भने अहिले नै निश्चित भइसकेको छैन।