काठमाडौँ । जिल्ला प्रहरी कार्यालय बाँकेमा गत असोज महिनामा विभिन्न प्रकृतिका १२७ वटा मुद्दा दर्ता भएका छन्।
प्रहरीले सार्वजनिक गरेको विवरणअनुसार जघन्य अपराधका १२, गम्भीर प्रकृतिका ४६ र सामान्य अपराधका ६९ मुद्दा दर्ता भएका हुन्। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रतीतसिंह राठौरका अनुसार सो अवधिमा चालु मुद्दाका १७९ जना प्रतिवादी पक्राउ परेका छन्। सार्वजनिक चासोका २० वटा पुराना मुद्दाको अनुसन्धानसमेत सफलतापूर्वक सम्पन्न गरिएको उनले जानकारी दिए।
प्रहरीका अनुसार महिला, बालबालिका तथा ज्येष्ठ नागरिकसँग सम्बन्धित १२ वटा मुद्दा दर्ता भएका छन्। ती घटनामा संलग्न रहेको आरोपमा १५ जना पक्राउ परेका छन्। यस्तै, आर्थिक अपराधसम्बन्धी १६ र सम्पत्ति शुद्धीकरणसम्बन्धी एउटा मुद्दा दर्ता भएको छ। सम्पत्ति शुद्धीकरणको मुद्दामा एक जना पक्राउ परेका छन्। अदालतको फैसला कार्यान्वयनलाई पनि प्रहरीले प्राथमिकता दिएको छ। यस क्रममा ७० जना पक्राउ परेका छन्। उनीहरूबाट अदालतको फैसला कार्यान्वयन गर्दै २० वर्ष ६ महिना २१ दिन कैद असुल गरिएको प्रहरीले जनाएको छ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिकसँग सम्बन्धित १०६ वटा उजुरी प्राप्त भएकामा ९३ वटा समाधान भएका छन् भने १३ वटा प्रक्रियामा रहेका छन्। त्यस्तै, असोज महिनामा महिला, बालिका, बालक तथा ज्येष्ठ नागरिकसहित विभिन्न उमेर समूहका व्यक्तिहरू हराएको विवरण पनि प्रहरीले सार्वजनिक गरेको छ। हराएकामध्ये १६ महिला, १३ बालिका, ६ बालक, दुई ज्येष्ठ नागरिक पुरुष र दुई पुरुष फेला परेको सूचना अधिकारी राठौरले जानकारी दिए।