काठमाडौँ ।अमेरिकाको फ्लोरिडा राज्यको टालाहासीमा विश्वविद्यालयको रंगशालानजिक गोली चल्दा ११ जना घाइते भएका छन्।
घाइते हुनेमा ६ जना बालबालिका तथा किशोरकिशोरी रहेका छन्। उनीहरूमध्ये सबैभन्दा कम उमेरका एक जना ११ वर्षका छन्।अन्तर्राष्ट्रिय सञ्चारमाध्यम सीएनएनका अनुसार शनिबार राति फ्लोरिडा ए एन्ड एम विश्वविद्यालयको ब्राग मेमोरियल रंगशालानजिक घटना भएको हो। घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको छ भने अन्य तीन जनालाई गम्भीर चोट लागेको छ। बाँकी आठ जनाको अवस्था स्थिर रहेको प्रहरीले जनाएको छ।
टालाहासीका प्रहरी प्रमुख लरेन्स रेभेलले पत्रकार सम्मेलनमार्फत घटनाबारे जानकारी दिएका हुन्। घाइतेमध्ये विश्वविद्यालयका एक विद्यार्थी पनि रहेको उनले बताए। घटनास्थलबाट भाग्ने क्रममा एक घाइतेकी हजुरआमासमेत चोटग्रस्त भएकी छन्।विश्वविद्यालयको घरेलु मैदानमा भएको फुटबल खेल सकिएको केही घण्टापछि गोली चलेको थियो। यद्यपि, उक्त खेल र गोलीकाण्डबीच कुनै सम्बन्ध रहे–नरहेको विषयमा प्रहरीले स्पष्ट पारिसकेको छैन।प्रहरीको प्रारम्भिक अनुमानअनुसार दुईदेखि तीन जनाबीच भएको विवाद घटनाको कारण हुन सक्ने देखिएको छ। घटनाको वास्तविक कारण पत्ता लगाउन हिंसात्मक अपराध अनुसन्धान टोलीसहितका अधिकारी परिचालन गरिएको छ। अनुसन्धानकर्ताहरूले घटनास्थलबाट प्रमाण सङ्कलन गरिरहेका छन्।
टालाहासीका मेयर जोन डेलीले घटनाप्रति दुःख व्यक्त गर्दै पीडित तथा प्रभावित परिवारप्रति सहानुभूति प्रकट गरेका छन्। विश्वविद्यालयले पनि घटनाबाट प्रभावित सबैप्रति दुःख व्यक्त गर्दै अनुसन्धानमा सहयोग गर्न सर्वसाधारणलाई घटनास्थल आसपासको क्षेत्रबाट टाढा रहन आग्रह गरेको छ।विश्वविद्यालयका अनुसार क्याम्पस परिसर सुरक्षित रहेको छ। गोली चलाउने व्यक्ति वा व्यक्तिहरूको पहिचान र घटनाको कारणबारे अनुसन्धान जारी रहेको छ।