काठमाडौँ ।भारतीय फिल्म उद्योगमा ठूलो डेटा चुहावटको घटना सार्वजनिक भएको छ।
भारतको केन्द्रीय चलचित्र प्रमाणन बोर्ड सीबीएफसी को अनलाइन प्रणालीबाट ५०० भन्दा बढी फिल्मसँग सम्बन्धित दस्तावेज बाहिरिएको समाचार सार्वजनिक भएको हो।भारतीय सञ्चारमाध्यमका अनुसार चुहिएका सामग्रीमा फिल्मका पटकथा, प्रमाणपत्रसम्बन्धी विवरण, कारोबारका कागजात तथा विभिन्न सम्झौताहरू समावेश छन्। फिल्मको प्रमाणपत्र जारी गर्ने प्रक्रियामा प्रयोग हुने सीबीएफसीको ‘ई–सिनेप्रमाण’ पोर्टलमा रहेका केही दस्तावेज अनधिकृत रूपमा पहुँच गरी इन्टरनेट अर्काइभमा डाउनलोड गर्न मिल्ने गरी राखिएको बताइएको छ।
सार्वजनिक भएका कागजातमा फिल्म निर्माण तथा वितरणसँग सम्बन्धित सम्झौता, प्रमाणपत्र शुल्क र अन्य व्यावसायिक विवरणसमेत रहेको जनाइएको छ। यस्ता जानकारी सार्वजनिक हुँदा फिल्म निर्माता तथा वितरकहरूको व्यावसायिक गोपनीयता र कारोबारमा असर पर्न सक्ने चिन्ता व्यक्त गरिएको छ।यद्यपि, डेटा चुहावट कसरी भयो र यसबाट ठ्याक्कै कति सामग्री प्रभावित भए भन्ने विषयमा विस्तृत विवरण सार्वजनिक भइसकेको छैन।घटनाबारे सीबीएफसीले छानबिन अघि बढाएको र भारतीय साइबर सुरक्षा निकायलाई समेत जानकारी गराइएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्। छानबिनपछि मात्र घटनाको वास्तविक कारण र प्रभावबारे थप स्पष्ट हुने अपेक्षा गरिएको छ।