काठमाडौं ।रसुवामा आएको भोटेकोशी बाढीबाट प्रभावितको उद्धार, राहत तथा पुनःस्थापनाका लागि स्थापना गरिएका सरकारी कोषमा आर्थिक सहयोग आउने क्रम जारी छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषका विभिन्न खातामा जम्मा भएको रकमको कुल मौज्दात १७ अर्ब ७५ करोड ७५ लाख ३८ हजार २९३ रुपैयाँ पुगेको छ।कार्यालयका अनुसार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषअन्तर्गत नौवटा वाणिज्य बैंकका खातामा १३ अर्ब २३ करोड ११ लाख ५३ हजार ८९७ रुपैयाँ मौज्दात रहेको छ।
त्यसैगरी, हिमालयन बैंक र लक्ष्मी सनराइज बैंकमा रहेका खातामा दुई करोड ९७ लाख ४७ हजार ५३२ अमेरिकी डलर जम्मा भएको जनाइएको छ।बाढीबाट प्रभावित नागरिकलाई सहयोग गर्ने उद्देश्यले सरकारी कोषमा विभिन्न क्षेत्रबाट आर्थिक सहायता जुटिरहेको छ। संकलित रकम विपद् व्यवस्थापन, प्रभावितको राहत तथा पुनःस्थापनासँग सम्बन्धित कार्यमा उपयोग गर्ने अपेक्षा गरिएको छ।