काठमाडौँ ।दसैँको अवधिमा कर्णाली प्रदेशका विभिन्न जिल्लामा ६५ वटा सवारी दुर्घटना भएका छन्।
दुर्घटनामा परी ६ जनाले ज्यान गुमाएका छन् भने १०४ जना घाइते भएका छन्।नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतका अनुसार घटस्थापना अर्थात् असोज २५ गतेदेखि हालसम्म प्रदेशका विभिन्न स्थानमा दुर्घटना भएका हुन्।जिल्लागत विवरणअनुसार सुर्खेतमा सबैभन्दा बढी ३१ वटा दुर्घटना भएका छन्। ती दुर्घटनामा ६४ जना घाइते भएका छन्। रुकुम पश्चिममा १४ वटा दुर्घटना हुँदा १४ जना घाइते भएका छन्। त्यस्तै, जाजरकोटमा भएका ६ वटा दुर्घटनामा चार जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्।
जुम्ला र हुम्लामा एक–एक वटा दुर्घटना हुँदा दुवै जिल्लामा एक–एक जनाको मृत्यु भएको छ। सल्यानमा ६ वटा दुर्घटनामा १३ जना र दैलेखमा पाँच वटा दुर्घटनामा नौ जना घाइते भएका छन्। डोल्पामा भएको एक दुर्घटनामा एक जना घाइते भएका छन्। ट्राफिक प्रहरीका अनुसार यस अवधिमा कालिकोट र मुगुमा भने सवारी दुर्घटना भएका छैनन्।प्रदेश ट्राफिक प्रहरीका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक हरिबहादुर बिसीका अनुसार गत वर्षको दसैँको तुलनामा यस वर्ष दुर्घटनामा घाइते हुनेको सङ्ख्या घटेको छ। गत वर्ष दसैँ अवधिमा १५५ जना घाइते भएका थिए भने सात जनाको मृत्यु भएको थियो।
दसैँका बेला ट्राफिक नियम उल्लङ्घन गर्ने एक हजार ३३८ वटा सवारीसाधनलाई कारबाही गरिएको छ। ती कारबाहीबाट १२ लाख २५ हजार रुपैयाँ राजस्व सङ्कलन भएको प्रहरीले जनाएको छ। यसैगरी, मादक पदार्थ सेवन गरी सवारी चलाउने २४६ जनालाई समेत कारबाही गरिएको छ।
