काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद गणेश पराजुलीले रसुवा बाढीपछि भइरहेको उद्धार तथा राहत कार्यमा देखिएका कमजोरीलाई सरकारले स्वीकार गरेर थप प्रभावकारी ढंगले काम गर्नुपर्ने बताएका छन्।
बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद पराजुलीले विपद्को समयमा भएका कमजोरी लुकाउनुको सट्टा त्यसबाट सिकेर नागरिकको जीवन रक्षा गर्न सरकार केन्द्रित हुनुपर्ने बताए। साथै, उद्धारमा भइरहेका प्रयासलाई पनि बेवास्ता गर्न नहुने उनको भनाइ थियो।पराजुलीले सरकारसँग भएका सीमित स्रोत र साधन मात्र प्रयोग गरेर जिम्मेवारी पूरा भएको मान्न नहुने बताए। आवश्यकताअनुसार थप जनशक्ति, प्रविधि र विशेषज्ञता तत्काल परिचालन गर्न उनले सरकारको ध्यानाकर्षण गराए।उनका अनुसार विश्वविद्यालय, निजी क्षेत्र, नागरिक समाज तथा मित्रराष्ट्रहरूसँग उपलब्ध विशेषज्ञ जनशक्ति र प्रविधिलाई समेत उद्धार तथा राहतमा प्रयोग गर्न सकिन्छ।प्राकृतिक विपद्को समयमा राजनीतिक मतभेदभन्दा नागरिकको सुरक्षा प्राथमिकतामा राख्नुपर्नेमा जोड दिँदै उनले प्राविधिक रूपमा दक्ष जनशक्तिलाई प्रभावित क्षेत्रमा तत्काल परिचालन गर्न सरकारसँग आग्रह गरे।