काठमाडौं । रसुवामा आएको विनाशकारी बाढीका कारण पर्यटन क्षेत्रमा मात्रै ५० अर्ब रुपैयाँभन्दा बढी क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्कराज पौडेल ‘गनेस’ले बुधबार संसद्को अन्तर्राष्ट्रिय समितिको छलफलमा यस्तो जानकारी दिएका हुन्।मन्त्री पौडेलका अनुसार बाढीबाट पर्यटन व्यवसाय र त्यससँग जोडिएका विभिन्न संरचनामा ठूलो क्षति पुगेको छ। सरकारले क्षतिको वास्तविक विवरण संकलन गर्न प्रभावित पर्यटन व्यवसायीहरूलाई आफ्नो क्षतिको विवरण पेश गर्न आग्रह गरेको छ।बाढीबाट प्रभावित क्षेत्रलाई भविष्यमा ‘क्लाइमेट हेरिटेज’ का रूपमा विकास गर्ने योजना समेत अघि सारिएको मन्त्री पौडेलले बताए। त्यस क्षेत्रमा संग्रहालय, पार्क, स्मारक वा अन्य संरचना निर्माण गरेर जलवायु परिवर्तनका कारण भएको विपद्को इतिहास र प्रभावलाई संरक्षण गर्नेबारे मन्त्रालयले सोचिरहेको उनको भनाइ छ।मन्त्री पौडेलले जलवायु परिवर्तनका कारण नेपालसहित विभिन्न देशले पछिल्लो समय गम्भीर प्राकृतिक विपत्तिको सामना गर्नुपरेको पनि बताए।