काठमाडौँ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो ३६ घण्टामा १ अर्ब ९१ करोड रुपैयाँभन्दा बढी सहयोग रकम जम्मा भएको छ।
अर्थ मन्त्रालयका अनुसार बुधबार मध्याह्नदेखि बिहीबार राति १२ बजेसम्म विभिन्न दाताबाट उक्त रकम प्राप्त भएको हो। मन्त्रालयका अनुसार १० वटा वाणिज्य बैंकमा रहेका कोषका खातामा ३६ घण्टाको अवधिमा १ अर्ब ९१ करोड ८६ लाख ५० हजार ९११ रुपैयाँ जम्मा भएको छ। नेपाल–चीन सीमा हुँदै बग्ने भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीबाट ठूलो जनधनको क्षति भएपछि सरकारले प्रभावित क्षेत्रलाई संकटग्रस्त क्षेत्र घोषणा गरेको थियो। त्यसपछि बाढीपीडितको राहत तथा उद्धारका लागि विभिन्न व्यक्ति, संस्था र व्यवसायिक क्षेत्रबाट कोषमा सहयोग आउने क्रम बढेको हो।
सरकारले कोषमा रकम संकलन तथा समन्वयका लागि अर्थ मन्त्रालयलाई फोकल मन्त्रालय तोकेको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संस्थागत रूपमा १ करोड रुपैयाँ वा सोभन्दा बढी सहयोग गर्ने दाताबाट प्राप्त रकम आफैँमार्फत स्वीकार गरिरहेका छन्। व्यक्तिगत रूपमा सहयोग गर्न चाहनेले भने मन्त्रालयमै पुगेर नगद रकम उपलब्ध गराउन सक्ने व्यवस्था गरिएको छ। नयाँ सहयोगसँगै प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रहेको कुल रकम ४ अर्ब ९ करोड ११ लाख ६० हजार रुपैयाँ पुगेको छ। यसअघि कोषमा २ अर्ब १७ करोड २५ लाख ९ हजार ७५९ रुपैयाँ मौज्दात रहेको थियो। यसैबीच, बिहीबार मात्रै ६ घण्टाको अवधिमा निजी क्षेत्रका दाताबाट अर्थ मन्त्रालयमार्फत २७ करोड ३३ लाख रुपैयाँ सहयोग प्राप्त भएको थियो। उक्त रकममा विभिन्न मित्रराष्ट्रले घोषणा गरेका सहयोग भने समावेश नभएको मन्त्रालयले जनाएको छ।