काठमाडौं । रसुवाको भोटेकोशी नदीमा पुनः पानीको बहाव बढ्न थालेपछि तटीय क्षेत्रमा जोखिम बढेको छ। बाढीको बहाव स्याप्रुबेसीसम्म पुगेपछि त्रिशूली नदी आसपासका बासिन्दालाई सावधानी अपनाउन आग्रह गरिएको छ।
बाढी पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार दिउँसो भोटेकोशीको जलप्रवाह बढिरहेको जानकारी प्राप्त भएको हो। अवस्थालाई ध्यानमा राख्दै त्रिशूली नदीको तटीय क्षेत्र हुँदै मुग्लिनसम्मका बासिन्दालाई सुरक्षित स्थानमा रहन र नदीको अवस्था नजिकबाट निगरानी गर्न आग्रह गरिएको छ।रसुवाको भोटेकोशी क्षेत्रमा केही दिनअघि आएको विनाशकारी बाढीपछि पुनः लेदोसहित पानीको बहाव बढेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। माथिल्लो क्षेत्रमा पानी र लेदो जम्मा भइरहेकाले थप बाढी आउन सक्ने सम्भावना रहेको प्राधिकरणको भनाइ छ।जोखिमयुक्त क्षेत्रमा उद्धार तथा राहतमा खटिएका सुरक्षाकर्मी, स्वयंसेवक र स्थानीय नागरिकलाई विशेष सावधानी अपनाउन आग्रह गरिएको छ। नदीको बहाव बढेको, पानीको स्वरूप परिवर्तन भएको वा अन्य जोखिमको संकेत देखिएमा ढिला नगरी सुरक्षित ठाउँमा जानसमेत भनिएको छ।तिब्बततर्फ पानी जम्मा भएको क्षेत्रको संरचना पुनः फुटेको जानकारी आएपछि नेपाल प्रहरीले पनि नदी किनारका नागरिक तथा उद्धारमा संलग्न टोलीलाई सचेत रहन आग्रह गरेको छयसैबीच नेपाली सेनाले हवाई माध्यमबाट प्रभावित क्षेत्रको अवस्थाबारे निरीक्षण गरिरहेको जनाएको छ।भदौ १० गते भोटेकोशीमा आएको ठूलो बाढीले रसुवासहित नुवाकोट, धादिङलगायत तल्लो तटीय क्षेत्रमा ठूलो क्षति पुर्याएको थियो। सो घटनापछि जारी खोज तथा उद्धार अभियानकै क्रममा नदीमा पुनः पानीको बहाव बढेपछि सम्भावित जोखिमबाट जोगिन स्थानीयलाई सतर्क रहन आग्रह गरिएको हो।