काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले जनताको ठूलो समर्थनसहित सत्तामा पुगेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको वर्तमान सरकार सफल हुनुपर्ने बताएका छन्।
जनताले दिएको बलियो जनादेशका कारण सरकारलाई असफल हुने कुनै छुट नरहेको उनको भनाइ छ।आइतबार आफ्नो गृहनगर झापाको मेचीनगर नगरपालिका–९ मा नवनिर्मित खानेपानी परियोजनाको उद्घाटन गर्दै शर्माले मुलुकमा बढ्दै गएको निराशा अन्त्य गर्न सरकारले प्रभावकारी काम गर्नुपर्ने धारणा राखे।उनले नागरिकमा निराशा, आक्रोश र असन्तुष्टि बढ्दै जाँदा देश कठिन अवस्थामा पुगेको उल्लेख गर्दै प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारले जनताको अपेक्षाअनुसार परिणाम दिनुपर्ने बताए।
नागरिकमा देखिएको निराशा हटाउन राजनीतिक दलहरू विकास र समृद्धिका मुद्दामा एकजुट हुनुपर्नेमा पनि उनले जोड दिए। निर्वाचनमा हारजित सामान्य प्रक्रिया भएको उल्लेख गर्दै शर्माले जनताबाट निर्वाचित सरकारलाई सबै दलले सहयोग गर्नुपर्ने धारणा राखे।जेनजी विद्रोह हुनुमा तत्कालीन सरकारले गरेको अत्यधिक बल प्रयोग पनि एउटा प्रमुख कारण रहेको उनको विश्लेषण छ। पुराना राजनीतिक दलले सुशासन कायम गर्न नसक्नु र नेतृत्वमा नयाँ पुस्तालाई पर्याप्त अवसर नदिनुले पनि विद्रोहको वातावरण बनेको उनले बताए।शर्माले वर्तमान सरकारको सफलतासँग जनताको आशा र अपेक्षा जोडिएकाले दलगत प्रतिस्पर्धाभन्दा माथि उठेर देश विकासका लागि सहकार्य गर्नुपर्ने सन्देश दिएका छन्।