काठमाडौं । प्रधानमन्त्री बालेन शाहलाई चीन भ्रमणको निम्ता प्राप्त भए पनि निकट भविष्यमै बेइजिङ जाने सम्भावना कमजोर देखिएको छ। भारत भ्रमणपछि चीन जाने चर्चा भइरहेका बेला दुवै देशका कूटनीतिक वृत्तबाट तत्काल भ्रमणको तयारी अघि बढ्ने संकेत नदेखिएको हो।
यसका पछाडि मुख्यतः दुईवटा कारण रहेको बताइएको छ। पहिलो, एक महिनाभित्रै प्रधानमन्त्रीको चीन भ्रमण गराउन आवश्यक तयारी पूरा हुने अवस्था छैन। दोस्रो, नेपालमा स्थानीय तह निर्वाचनको प्रक्रिया अघि बढ्ने भएकाले त्यसपछि उच्चस्तरीय विदेश भ्रमण प्रभावित हुन सक्नेछ।
नेपाली पक्षका अनुसार चीनसँग कूटनीतिक संवाद जारी रहे पनि प्रधानमन्त्रीको भ्रमणबारे ठोस तयारी सुरु भएको छैन। बेइजिङस्थित नेपाली दूतावासले समेत हालसम्म भ्रमणको तयारीसम्बन्धी औपचारिक निर्देशन प्राप्त नगरेको जनाएको छ।
दूतावासका एक उच्च अधिकारीका अनुसार भ्रमणको मिति तय गर्ने वा त्यसका लागि आवश्यक प्रक्रिया अघि बढाउने खालको कुनै जानकारी आएको छैन। त्यसैले तत्काल प्रधानमन्त्री चीन जाने सम्भावना नरहेको उनको भनाइ छ। यद्यपि केही समयपछि भ्रमणको वातावरण बन्न सक्ने अपेक्षा गरिएको छ।
यसबीच चीन र बालेन नेतृत्वको सरकारबीचको सम्बन्धलाई लिएर विभिन्न चासो पनि देखिएका छन्। विशेषगरी बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई), ट्रान्स हिमालयन कनेक्टिभिटी नेटवर्कलगायतका परियोजनामा नेपालको सक्रियता अपेक्षाअनुसार नदेखिएको चिनियाँ पक्षको बुझाइ रहेको बताइएको छ।
चिनियाँ अधिकारीहरूले नेपाली सम्पादकहरूसँगको भेटमा समेत यसबारे आफ्नो असन्तुष्टि व्यक्त गरेको चर्चा छ। नेपाल सरकारले औपचारिक संवादमा बीआरआईलाई प्राथमिकताका साथ उल्लेख नगरेको र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको परियोजनालाई विवादमा तानिएको विषयमा पनि चीनले चासो राखेको बताइएको छ।
त्यस्तै, टोखा–छहरे सुरुङमार्गको सम्भाव्यता अध्ययन अघि बढाउने विषयमा पनि चिनियाँ पक्षले चासो देखाउँदै आएको छ। तर नेपालको प्रशासनिक तथा राजनीतिक प्रक्रियाका कारण परियोजना अघि बढ्न नसकेको उसको बुझाइ रहेको बताइएको छ।
यद्यपि प्रधानमन्त्री शाह बेइजिङ पुगेमा स्वागत गर्न चीन तयार रहेको संकेत चिनियाँ अधिकारीहरूले दिएका छन्। न्युयोर्क र नयाँदिल्लीको भ्रमण गरिसकेका प्रधानमन्त्रीको चीन भ्रमणलाई बेइजिङले पनि महत्त्वका साथ हेरिरहेको देखिन्छ। तर तत्कालै भ्रमण हुनेमा भने चिनियाँ पक्षसमेत विश्वस्त देखिएको छैन।
यसअघि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको चीन भ्रमणको तयारी भए पनि भोटेकोशीमा आएको बाढीका कारण स्थगित भएको चिनियाँ पक्षको भनाइ छ। हालै रास्वपाका २० जना सांसदले भने चीन भ्रमण गरिसकेका छन्।
नयाँ सरकार गठन भएयता परराष्ट्रमन्त्री शिशिर खनालले चीन भ्रमण गरे पनि प्रधानमन्त्रीस्तरको भ्रमण हुन सकेको छैन। यद्यपि अर्थमन्त्री स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री खनाल र शिक्षामन्त्री सस्मित पोखरेलसँग चिनियाँ पक्षको संवाद निरन्तर भइरहेको बताइएको छ।
यसैबीच नेपालले तातोपानी नाका सञ्चालनमा ल्याउने विषयलाई चीनसँग प्राथमिकताका साथ उठाउँदै आएको छ। तर भौगोलिक कठिनाइका कारण तत्काल नाका पूर्ण रूपमा सञ्चालन गर्न सहज नहुने चीनको जवाफ रहेको बताइएको छ। नेपाली भूभागतर्फ नाका सञ्चालनका लागि आवश्यक अवस्था कायम भए चीनले हिउँ पन्छाएर भए पनि नाका चालु राख्न सक्ने संकेत दिएको छ।
चिनियाँ राजदूत झाङ माओमिङले नेपाली मन्त्रीहरूले उठाएका विषय बेइजिङसम्म पुर्याउने प्रतिबद्धता व्यक्त गरेको बताइएको छ।