काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले सिफारिस गरेका तर जारी हुन बाँकी रहेका तीनवटा अध्यादेशका विषयमा विषयविज्ञहरूसँग छलफल गर्ने भएका छन्।
संवैधानिक, कानुनी तथा प्रेस स्वतन्त्रतासँग जोडिएका संवेदनशील विषय समेटिएकाले राष्ट्रपति कार्यालयले अध्यादेशहरूको अध्ययन गरिरहेको छ।राष्ट्रपति कार्यालयमा अहिले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनसहित केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश, जेनजी आन्दोलनका घटनासम्बन्धी मुद्दाको छानबिन तथा पीडितलाई क्षतिपूर्ति र परिपूरण उपलब्ध गराउने आयोग गठनसम्बन्धी अध्यादेश र प्रेस काउन्सिल ऐन संशोधनसम्बन्धी अध्यादेश विचाराधीन छन्।
गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा भएका घटनासँग सम्बन्धित मुद्दाको छानबिन, मेलमिलाप, क्षतिपूर्ति तथा परिपूरणका लागि आयोग गठन गर्ने प्रस्ताव मन्त्रिपरिषद्ले मंसिर ४ गते राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो। आन्दोलनबाट प्रभावित व्यक्ति तथा परिवारलाई न्याय र राहत उपलब्ध गराउने उद्देश्यले उक्त अध्यादेश ल्याउन खोजिएको सरकारको भनाइ छ।प्रस्तावित व्यवस्थाअनुसार अदालतमा विचाराधीन मुद्दा र प्रहरी अनुसन्धानमा रहेका उजुरीसमेत संकलन गरी थप अनुसन्धान गर्ने तथा पीडित र सम्बन्धित पक्षबीच मेलमिलापको वातावरण बनाउने विषय समेटिएको छ। तर, यस्ता मुद्दा मेलमिलाप वा क्षतिपूर्तिमार्फत टुंग्याउने व्यवस्था कानुनसम्मत हुन्छ कि हुँदैन भन्ने विषयमा राष्ट्रपतिले विज्ञहरूको सुझाव लिन लागेका हुन्।
विशेषगरी कर्तव्य ज्यान तथा योजनाबद्ध रूपमा हतियार प्रयोग गरी गरिने चोरीजस्ता गम्भीर अपराध र अन्य कसुरबीचको कानुनी भिन्नता तथा तिनको निरूपण अध्यादेशमार्फत गर्न मिल्ने विषयमा राष्ट्रपति कार्यालयले गम्भीरतापूर्वक अध्ययन गरिरहेको छ।त्यस्तै, प्रेस काउन्सिल ऐन, २०४८ संशोधनसम्बन्धी अध्यादेश पनि विवादमा परेको छ। सरकारले कात्तिक १७ गते उक्त अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो। तर, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतासँग प्रत्यक्ष जोडिएको भन्दै नेपाल पत्रकार महासंघले यसको विरोध गर्दै फिर्ता लिन माग गरिरहेको छ।
सरोकारवाला पक्षसँग छलफल नगरी अध्यादेश ल्याउन खोजिएको भन्दै महासंघले यसलाई प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप र संसदीय प्रक्रियाविपरीतको कदमका रूपमा व्याख्या गरेको छ। माग सम्बोधन नभएको भन्दै महासंघले आइतबारदेखि मंसिर २० गतेसम्मका लागि दोस्रो चरणको आन्दोलनसमेत सुरु गरेको छ।यी विषयमा विभिन्न पक्षबाट प्रश्न उठेपछि राष्ट्रपति पौडेलले विज्ञहरूसँग परामर्श गर्न लागेका हुन्। तर, कुन–कुन क्षेत्रका र कस्ता विज्ञसँग छलफल गरिने भन्नेबारे राष्ट्रपति कार्यालयले औपचारिक जानकारी दिएको छैन।मौलिक हक, प्रेस स्वतन्त्रता र कानुनी प्रक्रियासँग जोडिएका विषय संसद्बाट विधेयकका रूपमा अघि बढ्नुको सट्टा अध्यादेशमार्फत ल्याउन खोजिएकाले राष्ट्रपति कार्यालयले त्यसको संवैधानिक र कानुनी पक्षबारे थप अध्ययन गरिरहेको छ। कार्यालयका अधिकारीहरूका अनुसार अध्यादेशहरू अहिले पनि अध्ययनकै क्रममा छन्।