काठमाडौँ । आन्तरिक राजस्व विभागले करदातालाई थप सहज, आधुनिक र प्रविधिमैत्री सेवा उपलब्ध गराउने उद्देश्यले नयाँ ‘ट्याक्स पोर्टल’ सञ्चालनमा ल्याएको छ। मङ्गलबार लाजिम्पाटस्थित विभागको कार्यालयमा आयोजित एक कार्यक्रमबिच विभागका महानिर्देशक डा. भीष्मकुमार भूसालले नयाँ पोर्टलको उद्घाटन गर्दै सुरुआती चरणमा करदाताको सहजताका लागि एक महिनासम्म पुरानो र नयाँ दुवै प्रणाली सञ्चालनमा रहने जानकारी दिए। करदातालाई नयाँ प्रणालीमा अभ्यस्त बनाउन र सम्भावित प्राविधिक समस्या व्यवस्थापन गर्न दुवै प्रणालीको बाह्य स्वरूप तत्कालका लागि उस्तै राखिएको र एक महिनापछि नयाँ इन्टरफेस पूर्ण रूपमा लागू गरिने उनले बताए।
नयाँ प्रणाली सबै प्रकारका वेब ब्राउजरहरूमा सहजै सञ्चालन हुने गरी निर्माण गरिएको छ। विगतमा पटक–पटक लगइन र लगआउट गर्नुपर्ने, विवरण प्रविष्ट गर्दा त्रुटि देखिने र धेरै समय लाग्ने झन्झटलाई यसले अन्त्य गर्ने विभागको विश्वास छ। नयाँ पोर्टलमा अन्तःशुल्कसम्बन्धी विवरण करदाता स्वयंले रुजु गर्न सक्ने, आय विवरण फारमका कतिपय अनुसूचीहरू स्वतः भरिने तथा विदेशी लगानीकर्ताले अनलाइनबाटै स्थायी लेखा नम्बर (प्यान) दर्ताका लागि आवेदन दिन सक्ने नयाँ सुविधा थप गरिएको छ। साथै, करदाताले प्यान प्रमाणपत्र, अन्तःशुल्क इजाजतपत्र र करचुक्ता प्रमाणपत्र आफैँ लगइन गरी डाउनलोड गर्न सक्नेछन्।
विभागले नयाँ प्रणालीमार्फत स्रोतमा करकट्टी (ई–टीडीएस) मा विशेष कडाइ गरेको छ। कानुनी व्यवस्था अनुसार ई–टीडीएस कट्टी गरिएको रकम अर्को महिनाको २५ गतेभित्र अनिवार्य रूपमा सरकारी कोषमा दाखिला गरी प्रणालीमा दर्ता गर्नुपर्ने व्यवस्था मिलाइएको छ। यसअघि वर्षको अन्त्यमा एकमुष्ट विवरण भर्ने र रकम होल्ड गर्ने प्रवृत्तिलाई यसले निरुत्साहित गर्नेछ। यसैगरी, मूल्य अभिवृद्धि कर (भ्याट) विवरणमा सामान्य त्रुटि वा अङ्क फरक परेमा करदाताले सात दिनभित्र आफैँ संशोधन गर्न सक्ने सुविधा दिइएकाले अब सामान्य गल्ती सच्याउन पनि कर कार्यालय धाउनुपर्ने बाध्यता हट्ने भएको छ।