काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले सासू शिवकुमारी केसीको निधन भएपछि मंगलबारका लागि बोलाइएको प्रतिनिधि सभाको बैठक बुधबारका लागि सारेका छन्।
मंगलबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक अब भदौ १० गते बुधबार दिउँसो १ बजे बस्ने भएको छ।९० वर्षीया केसीको मंगलबार बिहान निधन भएको हो। उनलाई काठमाडौंको शिक्षण अस्पताल महाराजगञ्जमा उपचार गरिएपछि शनिबार घर लगिएको थियो।सासूको निधनपछि सभामुख अर्यालले संसद् सचिवालयलाई बैठकको समय परिवर्तनसम्बन्धी सूचना प्रकाशित गर्न निर्देशन दिएका थिए।तर बैठक सार्ने निर्णयबारे उपसभामुख रुबी कुमारीसँग भने सभामुखले परामर्श नगरेको खुलेको छ।उपसभामुख रुबी कुमारीले आफूलाई बैठक स्थगित भएको जानकारी अचानक मात्र भएको बताएकी छन्।‘मलाई अचानक बैठक स्थगित भएको थाहा भयो,’ उनले भनेकी छन्, ‘नियमावलीले आपत्कालीन अवस्थामा बैठक स्थगित गर्न सक्ने व्यवस्था गरेको छ।’
प्रतिनिधि सभा नियमावली २०८३ अनुसार सामान्य अवस्थामा सभामुखले नै प्रतिनिधि सभाको बैठक सुरु र स्थगन गर्ने घोषणा गर्छन्।तर सभामुखले लिखित निर्देशन दिएमा वा सभामुखको नियन्त्रणबाहिरको परिस्थिति उत्पन्न भएर उनी बैठकमा उपस्थित हुन नसक्ने अवस्था आएमा उपसभामुखले बैठक सञ्चालन र स्थगन गर्न सक्ने व्यवस्था छ।यस हिसाबले सभामुख अर्यालले मंगलबारको बैठक आफैँ स्थगित गर्नुको सट्टा उपसभामुखलाई लिखित रूपमा बैठक सञ्चालनको जिम्मेवारी दिन सक्ने अवस्था पनि थियो।यही विषयलाई लिएर अहिले सभामुखको निर्णय र संसद् सञ्चालनको प्रक्रियाबारे चर्चा सुरु भएको छ।संसद् सचिवालयका एक अधिकारीका अनुसार उपसभामुखले बैठक सञ्चालन गर्ने अभ्यास गरिरहेकी भए पनि सुरुदेखि अन्त्यसम्म बैठकको पूर्ण जिम्मेवारी सम्हाल्ने गरी अझै पर्याप्त अनुभव हासिल गरिसकेकी छैनन्।
ती अधिकारीका अनुसार उपसभामुख अहिले नेपाली भाषामा समेत थप सुधार गर्न मेहनत गरिरहेकी छन्। उनको मातृभाषा मैथिली हो। पछिल्लो समय बैठक सञ्चालनमा उनको आत्मविश्वास र भाषामाथिको पकड भने बढ्दै गएको सचिवालयका अधिकारीको भनाइ छ।प्रतिनिधि सभामा सभामुख अनुपस्थित हुँदा उपसभामुखले बैठक सञ्चालन गरेका उदाहरण यसअघि पनि छन्।२०७६ साल माघ ६ गते तत्कालीन उपसभामुख शिवमाया तुम्बाहाम्फेले सभामुखको अनुपस्थितिमा प्रतिनिधि सभाको बैठक सञ्चालन गरेकी थिइन्।त्यतिबेला तत्कालीन सभामुख कृष्णबहादुर महरा जबर्जस्ती करणीको मुद्दामा जेल परेपछि सभामुख पद रिक्त थियो। सभामुख बन्ने आकांक्षा राखेकी तुम्बाहाम्फेले राजनीतिक विवादकै बीच प्रतिनिधि सभा बैठक सञ्चालन गरेकी थिइन्।२०८० साल असार १८ गते राष्ट्रिय सभाकी तत्कालीन उपाध्यक्ष उर्मिला अर्यालले अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको लिखित अनुमतिमा बैठक सञ्चालन गरेकी थिइन्। अध्यक्ष काठमाडौं बाहिर रहेकाले उनले बैठक सञ्चालनको जिम्मेवारी उपाध्यक्षलाई दिएका थिए।
यसअघि २०७५ साल भदौ २२ गते पनि राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिना बैठक सुरु गरेर बाहिरिएपछि उपाध्यक्ष शशीकला दाहालले बैठकको अन्त्य गरेकी थिइन्।यी घटनाले सभामुख वा अध्यक्ष उपस्थित हुन नसक्ने विशेष परिस्थितिमा उपसभामुख वा उपाध्यक्षमार्फत संसद्को कामकारबाही अघि बढाउन सकिने अभ्यास रहेको देखाउँछ।सभामुख अर्यालले भने व्यक्तिगत शोकको परिस्थितिमा मंगलबारको बैठक बुधबार सार्ने निर्णय गरेका हुन्। तर उपसभामुखसँग परामर्श नगरी बैठक सारिएको विषयले भने संसद्को कार्य सञ्चालन प्रक्रिया र नियमावलीको प्रयोगबारे नयाँ बहस जन्माएको छ।