काठमाडौं । प्रधानमन्त्री बालेन शाह बुधबार प्रतिनिधि सभा बैठकमा कालो चस्मा लगाएर उपस्थित हुने भएका छन्।
दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्रीले सांसदहरूसँग प्रत्यक्ष प्रश्नोत्तर गर्ने कार्यक्रम रहेको छ।यसअघि सभामुख डोलप्रसाद अर्यालले प्रमुख सचेतक तथा सचेतकमातर्फबाट सांसदहरूलाई कालो चस्मा नलगाई बैठकमा उपस्थित हुन आग्रह गरेका थिए। स्वास्थ्यसम्बन्धी कारणले चस्मा लगाउनुपर्ने भए त्यसको कारण र स्वास्थ्य परीक्षणसम्बन्धी विवरण उपलब्ध गराउनसमेत भनिएको थियो।प्रधानमन्त्री शाहले भने आफूलाई कालो चस्मा आवश्यक पर्ने कारणसहित संघीय संसद सचिवालयलाई जानकारी गराएका छन्। उनले आँखासम्बन्धी समस्याका कारण उज्यालोमा हेर्न असहज हुने भएकाले चस्मा प्रयोग गर्नुपरेको बताएका छन्।प्रधानमन्त्रीले साउन २२ गते नेपाली सेनाको छाउनीस्थित सैनिक अस्पतालमा आँखाको परीक्षण गराएका थिए। लेफ्टिनेन्ट कर्णेल डा। सचित ढकालले गरेको परीक्षणको रिपोर्टमा प्रधानमन्त्रीलाई उज्यालोमा हेर्न कठिनाइ हुने र आँखामा सुख्खापन देखिने उल्लेख गरिएको छ।रिपोर्टअनुसार आँखाको सुख्खापनका कारण आवश्यकताअनुसार आइड्रप प्रयोग गर्नुपर्ने अवस्था रहेको बताइएको छ। यही स्वास्थ्य अवस्थाका कारण कालो चस्मा प्रयोग गर्नुपर्ने जानकारी प्रधानमन्त्रीको सचिवालयले संसद सचिवालयलाई गराएको हो।यससँगै प्रधानमन्त्री शाह बुधबारको प्रतिनिधि सभा बैठकमा स्वास्थ्य अवस्थाका कारण कालो चस्मा लगाएरै सहभागी हुने भएका छन्।