काठमाडौं । विद्युत् महसुलमा लगाइएको मूल्य अभिवृद्धि कर भ्याट को चर्को आलोचना भएपछि सरकारले महसुल घटाउने तयारी थालेको छ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले विद्युत् महसुल पुनरावलोकन गर्न गठन गरेको समितिले उपभोक्ता र उद्योगलाई राहत दिने गरी नयाँ दर सिफारिस गर्ने तयारी गरिरहेको छ। समितिको प्रारम्भिक समयसीमा सकिए पनि अध्ययन पूरा नभएकाले म्याद थप गर्ने तयारी भइरहेको छ।समितिका संयोजक अंशुकिरण शाहीका अनुसार वर्षायाममा खेर जाने बिजुलीको खपत बढाउन ‘सिजनल ट्यारिफ’ लागू गर्ने विषयमा पनि छलफल भइरहेको छ। उद्योगलाई हाल प्रतियुनिट करिब ११ रुपैयाँ पर्ने बिजुलीलाई घटाएर ५ रुपैयाँसम्ममा उपलब्ध गराउन सकिन्छ कि भन्ने विषयमा अध्ययन भइरहेको उनले बताए।तर, बिजुली सस्तो गरिएपछि उद्योगले उत्पादन गर्ने वस्तुको मूल्यसमेत घटाएर त्यसको प्रत्यक्ष लाभ उपभोक्ताले पाउनुपर्ने समितिको धारणा छ।त्यस्तै, १ सय ५० युनिटसम्म विद्युत् खपत गर्ने उपभोक्तालाई थप सहुलियत दिने तथा विद्युत् महसुलमा लगाइएको भ्याट हटाउने वा परिमार्जन गर्ने विषयमा अर्थ मन्त्रालयसँग समेत छलफल भइरहेको छ।समितिले आगामी एक साताभित्र मन्त्रालयलाई सिफारिस बुझाउने लक्ष्य राखेको जनाएको छ। संयोजक शाहीले तत्काल विद्युत् महसुल बढ्ने सम्भावना नरहेको स्पष्ट पारेका छन्।