काठमाडौँ । अस्ट्रेलियाको सिड्नीस्थित कोगी बीचमा सार्कको आक्रमणमा परी गम्भीर घाइते भएकी ३५ वर्षीया लिआ स्टुअर्टले आफूले जीवनको ‘दोस्रो अवसर’ पाएको महसुस गरेको बताएकी छन् ।
गत जुनमा बिहान पौडी खेल्ने क्रममा सार्कको आक्रमणमा परेकी स्टुअर्टका हात र खुट्टामा गम्भीर चोट लागेको थियो । उनलाई तत्काल अस्पताल पुर्याएर कृत्रिम कोमामा राखी उपचार गरिएको थियो । उपचारका क्रममा उनको शरीरका विभिन्न भागमा शल्यक्रिया गरिएको थियो भने एउटा हातसमेत काट्नुपरेको थियो । एक सन्तानकी आमा स्टुअर्टले आक्रमणपछि पहिलोपटक सार्वजनिक रूपमा आफ्नो स्वास्थ्य अवस्थाबारे जानकारी दिएकी हुन् । उनले पछिल्ला केही महिना निकै कठिन भए पनि अहिले आफ्नो स्वास्थ्यमा उल्लेखनीय सुधार भइरहेको बताएकी छन् । पुनःस्थापनाका क्रममा आफू केही हदसम्म आत्मनिर्भर बन्न सक्ने अवस्थामा पुगेको र भविष्यप्रति आशावादी भएको उनको भनाइ छ ।
‘मैले जीवनको दोस्रो अवसर पाएजस्तो महसुस गरेकी छु र म यसलाई खेर जान दिने छैन,’ उनले सामाजिक सञ्जालमा लेखेकी छन् । स्टुअर्टले आफ्नो उपचारका लागि परिवार, साथीभाइ तथा अपरिचित व्यक्तिहरूबाट समेत प्राप्त सहयोगप्रति आभार व्यक्त गरेकी छन् । उनका लागि सञ्चालन गरिएको अनलाइन कोष संकलन अभियानबाट ५ लाख ५० हजार अस्ट्रेलियन डलरभन्दा बढी रकम जुटेको थियो । उनका अनुसार उक्त रकमले घरमै बसेर पुनःस्थापना हुने तथा आगामी दिनमा आवश्यक पर्न सक्ने थप उपचारका लागि सहयोग पुग्नेछ । उनले अझै लामो उपचार यात्रा बाँकी रहेको भए पनि हालसम्मको स्वास्थ्य सुधारलाई उल्लेखनीय भएको बताएकी छन् । ‘मेरो परिवार र मलाई विश्वभरबाट प्राप्त माया, सहयोग, प्रार्थना र हौसलाले यो कठिन समय पार गर्न ठूलो मद्दत गरेको छ,’ उनले भनेकी छन् । यस वर्ष अस्ट्रेलियामा सार्कको आक्रमणका घटना बढेका छन् । जनवरीमा दुई दिनको अवधिमा मात्रै चारवटा सार्क आक्रमणका घटना भएका थिए । तीमध्ये १२ वर्षीय एक बालकको आक्रमणबाट लागेको चोटका कारण पछि मृत्यु भएको थियो । मे महिनामा क्वीन्सल्यान्डमा माछा मार्ने क्रममा एक पुरुष सार्कको आक्रमणमा परी मारिएका थिए । त्यस्तै, पश्चिमी अस्ट्रेलियामा ४ मिटर लामो सार्कको आक्रमणमा परी दुई सन्तानका बुबाको मृत्यु भएको थियो ।