काठमाडौं ।नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीले प्रतिपक्षको भूमिकालाई प्रभावकारी बनाउँदै संसदमा जनसरोकारका विषयलाई सशक्त ढंगले उठाउने बताएका छन्।
कांग्रेस केन्द्रीय कार्यालयमा आयोजित ‘सुवर्ण शम्शेर इकोनोमिक सिरिज’ कार्यक्रममा बोल्दै सभापति थापाले संसदीय जिम्मेवारीलाई प्रभावकारी रूपमा निर्वाह गर्न यस्ता नीतिगत छलफल महत्वपूर्ण हुने बताए।थापाले कांग्रेस अहिले प्रतिपक्षको भूमिकामा रहेकाले संसदमा पार्टीका निश्चित उत्तरदायित्व रहेको उल्लेख गरे। ती जिम्मेवारीलाई कुशलतापूर्वक निर्वाह गर्न गम्भीर छलफल र नीतिगत स्पष्टता आवश्यक रहेको उनको भनाइ थियो।“हामी अहिले प्रतिपक्षको जिम्मेवारीमा छौँ र संसदमा हाम्रा केही निश्चित उत्तरदायित्वहरू छन्। ती जिम्मेवारीलाई कसरी कुशलतापूर्वक निर्वाह गर्ने भन्ने विषयमा गम्भीर छलफल आवश्यक छ,” थापाले भने।कार्यक्रममा भएका छलफलले पार्टीका नेता तथा कार्यकर्तालाई विभिन्न विषयमा थप जानकारी प्राप्त हुनुका साथै आगामी दिनमा व्यापक दृष्टिकोण बनाउन सहयोग पुग्ने उनले बताए।कार्यक्रममा उठाइएका विषय तथा प्राप्त सुझावलाई संसदमा प्रभावकारी रूपमा प्रस्तुत गरिने पनि सभापति थापाले जानकारी दिए।