काठमाडौं । नेपाली कांग्रेसको विदेशस्थित भ्रातृ संस्था जनसम्पर्क समितिहरूमा नयाँ नेतृत्व चयनको क्रम तीव्र बनेको छ।
कांग्रेसको विशेष महाधिवेशनअघि विभिन्न १४ देशमा जनसम्पर्क समितिको अधिवेशन सम्पन्न भई नयाँ नेतृत्व चयन गरिएको हो।विशेष महाधिवेशनअघि अधिवेशन सम्पन्न गर्ने जनसम्पर्क समितिमा कुवेत, नर्वे, बहराइन, ओमान, साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स यूएई र मलेसिया रहेका छन्।त्यसैगरी हालसालै अमेरिका, जापान, भारत, बेल्जियम, फ्रान्स, दक्षिण कोरिया र नेदरल्यान्डमा समेत जनसम्पर्क समितिको अधिवेशन सम्पन्न भएको छ।अधिवेशनबाट कुवेतमा केशर घलान, नर्वेमा पारसमणि मिश्र, बहराइनमा शेरबहादुर रावत, ओमानमा सञ्जयकुमार साह, साउदी अरेबियामा तुसनबहादुर थापा, यूएईमा भुवानीप्रसाद तिमिल्सिना र मलेसियामा चोलाकान्त पंगेनी सभापतिमा चयन भएका छन् । त्यस्तै जापानमा राजेन्द्रकुमार जमरकट्टेल दक्षिण कोरियामा भजिन्द्र क्षेत्री, नेदरल्यान्डमा जितेन्द्रकुमार श्रेष्ठ, बेल्जियममा देवेन्द्र शर्मा देबु, फ्रान्समा शिवराम भण्डारी, भारतमा दिपक झा, अमेरिकामा मुनिन्द्र नेम्बाङ र हङकङमा शैलेन्द्रसिंह बोगटी सभापति रहेको नयाँ समिति चयन भएको छ।नेपाली कांग्रेसका अनुसार विदेशमा पार्टीका ३७ देशमा जनसम्पर्क समिति रहेका छन्। विशेष महाधिवेशनअघि विभिन्न देशमा अधिवेशन सम्पन्न गर्दै नयाँ नेतृत्व चयन गर्ने क्रमले तीव्रता पाएसँगै विदेशस्थित कांग्रेस संगठनमा समेत नेतृत्व पुनर्गठन भइरहेको छ।