काठमाडौं । भारतका लेग स्पिनर कर्ण शर्माले अन्तर्राष्ट्रिय तथा भारतीय घरेलु क्रिकेटबाट संन्यासको घोषणा गरेका छन्।
३८ वर्षीय शर्माले शनिबार उत्तर प्रदेश टी–२० लिगको खेलपछि आफ्नो खेलाडी जीवन टुंग्याउने निर्णय सार्वजनिक गरेका हुन्।कर्णले भारतका लागि एक टेस्ट, दुई एकदिवसीय र एक टी–२० अन्तर्राष्ट्रिय खेलेका थिए। उनले सन् २०१४ मा इंग्ल्यान्डविरुद्ध टी–२० अन्तर्राष्ट्रियमा डेब्यु गरेका थिए। डेब्यु खेलमै उनले इंग्ल्यान्डका स्टार ब्याटर जो रुटको विकेट लिएका थिए।त्यही वर्ष अस्ट्रेलियाविरुद्ध एडिलेडमा भएको टेस्टमा समेत उनले प्रभावशाली प्रदर्शन गरेका थिए। उक्त खेलका दुवै इनिङ्समा उनले दुई–दुई विकेट लिएका थिए।घरेलु क्रिकेटमा भने कर्णको प्रदर्शन निकै प्रभावशाली रह्यो। उनले ९७ प्रथम श्रेणी खेलमा २ सय ७० विकेट लिनुका साथै २ हजार ८ सय ६६ रन बनाएका छन्।
त्यस्तै, लिस्ट ‘ए’ क्रिकेटमा उनले १ सय ५३ विकेट तथा टी–२० क्रिकेटमा १ सय ६८ विकेट आफ्नो नाममा लेखाएका छन्। आईपीएलमा ९० खेल खेलेका उनले ८७ विकेट लिएका छन्।कर्ण शर्माको करियरको सबैभन्दा विशेष उपलब्धिमध्ये लगातार तीन फरक टोलीबाट आईपीएल उपाधि जित्नु हो।सन् २०१६ मा सनराइजर्स हैदराबाद, २०१७ मा मुम्बई इन्डियन्स र २०१८ मा चेन्नई सुपर किंग्सबाट उनले लगातार तीन वर्ष आईपीएल उपाधि जितेका थिए। यससँगै उनी तीन फरक टोलीबाट लगातार तीन आईपीएल उपाधि जित्ने पहिलो खेलाडी बनेका थिए।सन् २०१४ को आईपीएल अक्सनमा सनराइजर्स हैदराबादले उनलाई ३ करोड ७५ लाख भारतीय रुपैयाँमा अनुबन्ध गरेको थियो। त्यतिबेला अनक्याप्ड भारतीय खेलाडीका लागि यो सर्वाधिक बोलीमध्ये एक थियो।खेलाडी जीवनबाट संन्यास लिए पनि कर्ण क्रिकेटबाट टाढा नहुने भएका छन्। उनले आगामी दिनमा प्रशिक्षक तथा क्रिकेटसँग सम्बन्धित अन्य भूमिकामा आफू उपलब्ध रहने बताएका छन्।