काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा की सांसद लिमा अधिकारीले राहदानी प्राप्त गर्ने प्रक्रिया थप सहज, सुरक्षित र नागरिकमैत्री बनाउन सरकारसँग माग गरेकी छन्।
मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा ‘राहदानी ऐन–२०७६ लाई संशोधन गर्न बनेको विधेयक’ माथिको सैद्धान्तिक छलफलमा सहभागी हुँदै सांसद अधिकारीले विदेश जाने नेपालीको संख्या बढ्दै गएकाले राहदानी सेवा पनि समयअनुकूल सुधार गर्नुपर्ने बताइन्।उनले राहदानीका लागि आवेदनदेखि वितरणसम्मको प्रक्रिया सरल बनाउँदै नागरिकले अनावश्यक झन्झट र लामो प्रतीक्षा गर्नुपर्ने अवस्था अन्त्य गर्न सरकारको ध्यानाकर्षण गराइन्।अधिकारीले अस्थायी राहदानीको अवधि नौ महिनाबाट बढाएर दुई वर्ष पुर्याउने प्रस्ताव सकारात्मक रहेको बताइन्। यसले विशेष परिस्थितिमा राहदानी आवश्यक पर्ने नेपालीलाई केही सहजता प्रदान गर्ने उनको भनाइ थियो।सांसद अधिकारीले राहदानी बनाउन नागरिकले केन्द्रसम्म धाउनुपर्ने बाध्यता हटाउन स्थानीय तहबाटै राहदानीसम्बन्धी सेवा उपलब्ध गराउने व्यवस्था गर्नुपर्ने बताइन्।त्यस्तै, विदेशमा रहेका नेपालीका लागि आवेदन प्रक्रिया अझ छिटो र सहज बनाउन तथा स्वदेशमै राहदानी छपाइको व्यवस्था गर्नुपर्नेमा उनले जोड दिइन्।विदेश जाने नेपालीको संख्या निरन्तर बढिरहेको अवस्थामा राहदानी सेवा राज्यको प्राथमिकतामा पर्नुपर्ने भन्दै अधिकारीले प्रविधिको अधिकतम प्रयोग गरी सेवा प्रवाहलाई छिटो, सुरक्षित र पारदर्शी बनाउन सरकारसँग आग्रह गरिन्।