काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले भारतीय स्थल सेनाध्यक्ष धिरज सेठलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गरेका छन्।
सोमबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति पौडेलले सेनाध्यक्ष सेठलाई मानार्थ महारथीको दर्जा प्रदान गरेका हुन्। नेपाल र भारतबीच सन् १९५० देखि कायम रहेको परम्पराअनुसार एक–अर्का देशका सेना प्रमुखलाई मानार्थ महारथीको दर्जा प्रदान गरिँदै आएको छ। सोही परम्पराअनुसार भारतीय स्थल सेनाध्यक्ष सेठलाई नेपाली सेनाको मानार्थ महारथीको सम्मान प्रदान गरिएको हो। तीनदिने नेपाल भ्रमणका क्रममा सेठ आइतबार अपराह्न काठमाडौं आइपुगेका थिए। नेपाल भ्रमणका क्रममा उनले नेपाली सेनाका उच्च अधिकारी तथा अन्य सम्बन्धित पक्षसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ। मानार्थ महारथीको दर्जा प्रदान गर्ने समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, परराष्ट्रमन्त्री शिशिर खनाल, नेपाल सरकार तथा नेपाली सेनाका उच्चपदस्थ अधिकारीहरू र नेपालका लागि भारतीय राजदूतलगायतको उपस्थिति थियो।