काठमाडौं । अस्ट्रेलियामा आयोजना हुने टप एन्ड टी–२० प्रतियोगितामा सहभागी हुन जाने नेपाल ‘ए’ क्रिकेट टोलीको आज बिदाइ गरिएको छ।
प्रतियोगितामा सहभागी हुन नेपाली टोली भोलि राति अस्ट्रेलिया प्रस्थान गर्नेछ। नेपाल ‘ए’ ले अगस्ट २१ मा एनटी स्ट्राइकविरुद्ध खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ। त्यसपछि अगस्ट २२ मा बंगलादेश उच्च प्रदर्शन टोली, अगस्ट २४ मा हरिकेन्स, अगस्ट २६ मा एसीटी कोमेट्स, अगस्ट २७ मा किङ्सम्यान र अगस्ट २९ मा भिक्टोरियाविरुद्ध खेल्ने तालिका रहेको छ।
टप एन्ड टी–२० प्रतियोगितापछि पनि नेपाल ‘ए’ टोलीको अस्ट्रेलिया भ्रमण जारी रहनेछ। टोलीले न्युजिल्यान्ड ‘ए’, तास्मानिया र साउथ अस्ट्रेलियाविरुद्ध एकदिवसीय अभ्यास खेलसमेत खेल्नेछ।
अस्ट्रेलिया भ्रमणले नेपाली खेलाडीलाई अन्तर्राष्ट्रिय स्तरका टोलीसँग प्रतिस्पर्धा गर्दै आफ्नो क्षमता प्रदर्शन गर्ने महत्वपूर्ण अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ। प्रतियोगिता तथा अभ्यास खेलले नेपाल ‘ए’ टोलीका खेलाडीलाई आगामी अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि थप अनुभव र तयारीमा समेत सहयोग पुग्ने विश्वास गरिएको छ।