काठमाडौं ।विराट कोहली र शुभमन गिलले शतकीय इनिङ्स खेलेपछि भारतले वेस्ट इन्डिजविरुद्धको पहिलो ओडिआईमा आठ विकेटको सहज जित निकालेको छ।
तिरुवनन्तपुरममा वेस्ट इन्डिजले दिएको दुई सय छयानब्बे रनको लक्ष्य भारतले ४१ दशमलव चार ओभरमै दुई विकेट गुमाएर पूरा गरेको हो। भारतको जितमा कोहलीले अविजित एक सय उनन्चालीस रन तथा कप्तान गिलले एक सय दश रनको योगदान दिए।कोहलीले एक सय सैंतालीस बलमा एघार चौका र नौ छक्का प्रहार गरे। यो उनको ओडिआई करियरको ५५औँ शतक हो। यही शतकसँगै उनले अन्तर्राष्ट्रिय क्रिकेटमा पन्ध्र हजार रनको आँकडा पनि पार गरेका छन्। लिस्ट ‘ए’ क्रिकेटमा भने कोहलीको शतक संख्या ६० पुगेको छ, जुन सचिन तेन्दुलकरको कीर्तिमानसँग बराबर हो।
गिलले एक सय दुई बलमा बाह्र चौका र दुई छक्काको सहयोगमा एक सय दश रन बनाए। ६७औँ ओडिआई इनिङ्समा उनले आफ्नो दशौँ शतक पूरा गरेका हुन्। यससँगै ओडिआईमा सबैभन्दा कम इनिङ्समा दश शतक पूरा गर्ने खेलाडीको सूचीमा गिल तेस्रो स्थानमा पुगेका छन्।यसअघि टस गुमाएर ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित ५० ओभरमा सात विकेट गुमाउँदै दुई सय पन्चानब्बे रन बनाएको थियो। उसका लागि जस्टिन ग्रिभ्सले एक सय एक रनको शतकीय पारी खेले। यो उनको ओडिआई करियरकै पहिलो शतक हो। ग्रिभ्सले जोन क्याम्पबेलसँग पहिलो विकेटका लागि एक सय पैँतीस रनको साझेदारी गरेका थिए। क्याम्पबेलले ६२ रन बनाए।
भारतका स्पिनर कुलदीप यादवले भने मध्यक्रममा वेस्ट इन्डिजलाई ठूलो दबाबमा राखे। उनले ४० रन खर्चेर चार विकेट लिए। कुलदीपले वेस्ट इन्डिजका सुरुआती पाँच विकेटमध्ये चार विकेट आफ्नो नाममा लेखाए।एक समय एक विकेटको क्षतिमा एक सय छयहत्तर रन बनाएको वेस्ट इन्डिज कुलदीपको बलिङपछि एक सय अन्ठानब्बे रनमा पाँच विकेट गुमाउने अवस्थामा पुगेको थियो। त्यसपछि अमिर जाङ्गुले आक्रामक ब्याटिङ गर्दै ४३ बलमा ५८ रन बनाएपछि वेस्ट इन्डिजले सम्मानजनक स्कोर खडा गरेको थियो।लक्ष्य पछ्याउने क्रममा भने भारतले सुरुदेखि नै खेल आफ्नो नियन्त्रणमा राख्यो। गिलले धैर्यपूर्वक रन बटुल्दा कोहलीले आक्रामक ब्याटिङ गरे। अल्जारी जोसेफविरुद्ध कोहली विशेष प्रभावशाली देखिए। उनले जोसेफको बलमा तीन छक्कासहित ५३ रन जोडे। आफ्नो शतक पनि कोहलीले छक्काबाटै पूरा गरेका थिए।