काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापा आन्दोलनका अगुवा नेता तथा पूर्वसांसद घनेन्द्र बस्नेतको निधनप्रति दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेका छन्।
ओलीले बुधबार सामाजिक सञ्जालमार्फत बस्नेतको निधनको खबरले आफूलाई स्तब्ध बनाएको उल्लेख गर्दै उनको योगदानको स्मरण गरेका हुन्। नेपालको कम्युनिस्ट तथा लोकतान्त्रिक आन्दोलनमा बस्नेतले पुर्याएको योगदान महत्वपूर्ण र स्मरणीय रहेको ओलीले बताएका छन्। उनले राजनीतिक संघर्षका क्रममा बस्नेतले लामो समय जेलजीवन बिताएको उल्लेख गर्दै त्यस्ता संघर्षकै कारण मुलुकमा लोकतान्त्रिक अधिकार स्थापित भएको बताएका छन्।
ओलीले बस्नेतको राजनीतिक संघर्ष, त्याग र योगदानलाई नेपालको कम्युनिस्ट तथा लोकतान्त्रिक आन्दोलनको इतिहासमा सम्मानपूर्वक सम्झना गरिने बताएका छन्। उनले दिवंगत बस्नेतप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकमा रहेका परिवारजन, आफन्त तथा सहयोद्धाहरूप्रति गहिरो समवेदना व्यक्त गरेका छन्।