काठमाडौं । साताको तेस्रो कारोबार दिन बुधबार सेयर बजार परिसूचक नेप्सेमा सामान्य सुधार देखिएको छ। नेप्से परिसूचक ०.५५ अंकले बढेर २६४२.४० विन्दुमा पुगेर कारोबार बन्द भएको हो।
परिसूचकमा सामान्य वृद्धि भए पनि कारोबार रकममा भने कमी आएको छ। बुधबार ३४८ कम्पनीका ८७ लाख कित्ता सेयर किनबेच हुँदा कुल ३ अर्ब ५३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ। मंगलबार कारोबार रकम ४ अर्ब रुपैयाँभन्दा बढी थियो।नेप्से सामान्य बढे पनि बजारमा घट्ने कम्पनीको संख्या भने बढी रह्यो। आज कारोबार भएका कम्पनीमध्ये १६५ वटाको सेयर मूल्य घटेको छ भने १०२ कम्पनीको मूल्य बढेको छ। ९ कम्पनीको सेयर मूल्य भने स्थिर रह्यो। बुधबार माउन्ट एभरेस्ट पावर डेभलपमेन्टका लगानीकर्ताले सर्वाधिक कमाएका छन्।
कम्पनीको सेयर मूल्य १५ प्रतिशतले बढेर ३४५ रुपैयाँ पुगेको छ। त्यस्तै, इमर्जिङ नेपालको सेयर मूल्य ५.४८ प्रतिशतले बढेको छ। अर्कोतर्फ, आईसीएफसी फाइनान्सको डिबेन्चरको मूल्य सर्वाधिक १५ प्रतिशतले घटेको छ। अपर लोहोरे हाइड्रोका लगानीकर्ताले पनि १४.९८ प्रतिशत गुमाएका छन्। कारोबार रकमका आधारमा एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेड अगाडि रह्यो। कम्पनीको ३१ करोड ६० लाख १२ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। त्यस्तै, सेन्ट्रल फाइनान्सको २२ करोड ४८ लाख रुपैयाँ र सोलु हाइड्रोपावरको २२ करोड ६ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ।